News Portal

  • राजनैतिक दलका युवा संगठन र युवा संगठन नेपालको कार्यभार

    दिनेश सी२०८१ भाद्र १५
    २२३ पटक

    खासमा नेपालका कम्युनिस्ट पार्टी भित्रका युवा संगठनहरु अहिले सवै पार्टीहरुमा छन । जस्तै एमाले, माओवादी, एकीकृत समाजवादी सरकार र सदन भित्र ,सरकार र सदन बाहिर रहेका पार्टीहरुमा अनिवार्य युवा संगठनहरु प्रत्येक पार्टीले परिचालन गर्दै आएका छन । एकातिर सबै पार्टीहरुलाई युवा संगठनको खाचो पर्दै आएको छ भने,अर्को तिर तिनै पार्टी सरकारमा बसेर हजारौ युवाहरुलाई योजनावद्घ  बिदेश  पलायन गरिरहेका छन । यो जस्तो लज्जास्पद सरकारको रवैया अरु के हुन सक्छ ?  नेपाली युवाहरुले सरकारका नौटंकी हेरेर वस्नु पर्ने वाध्यता छ भने विप्रेषण भित्रीएको आनन्दमा रमाउनु परीरहेको छ । देशमा युवाहरुलाई निरास र भविष्य अन्धकार वनाईएको छ भने महिनौ पिच्छे सरकार फेरवदलले सरकारवाट केही पाउने  नागरिकहरुका आशा र अपेक्षा मर्दै गएका छन । देशको दक्ष, अदक्ष र अर्धदक्ष युवा शक्तिको श्रमशक्ति सबै विदेशी शासकहरुले सदुपयोग गर्दै आफुलाई विकसित तुल्याएका छन ।

    नेपालका संसदीय नेताहरुले युवा पलायन रोक्न  सामान्य  तहका  योजनाहरुलाई पनि आशा लाग्दो रुपमा प्रस्तुत गर्न सकिरहेका छैनन । आर्थिक बर्ष ०८०/८१ मा १४ खर्व ४५ अर्व ३२ करोड बराबरको विप्रेषण नेपालमा भित्रीएको छ ।  विप्रेषण आप्रवाहमा १६ .५  प्रतिशतले वृद्धि  हो, जहाँ भए पनि देशको अर्थतन्त्र तिनै श्रमिक युवाहरुले धानिरहेका छन । लाखौ युवाहरु परदेशमा जिविकोपार्जनका लागि दिनरात जोखिमपुर्ण काम गर्न वाध्य छन । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा पुगेका १० हजार ८ सय श्रमिक युवाहरुले विभिन्न कारणले ज्यान गुमाएका छन । वार्षिक एक हजार र दैनिक चार जनाले ज्यान गुमाउने गरेको सरकारी तथ्यांकमा छ । यस्ता दुखान्त घटनाहरुले सिंगो देशको मुटु पिरोलिरहेको छ ।  नेपालका शासकहरु  विदेशीको इशारामा चल्ने र देशलाई बर्बादी तिर पार्न माहिर देखिन्छ्न यो हामी युवाहरुका लागि विडम्वना हो ।

    राजनैतिक दलका युवा संगठनहरुको कार्य के ?

    युवा भनेका नयाँ –  नयाँ खोज र अनुसन्धान कर्ता हुन ती समाजवादी हुन या पुजीवादी ? आफ्नो र आउने पिढीको भविष्य सुनिश्चित गर्न सक्ने तागत राख्दछन । २१ औं शताब्दीका सोच ज्ञान विज्ञान र प्रबिधिमय आजका युवाहरु नयाँ सभ्यताको खोजमा व्यस्त रहेका छन । देशलाई स्वाधीन वनाउन, देशलाई आत्मनिर्भर वनाउन, देशलाई विकसित तुल्याउन र देशलाई साम्राज्यवादीहरुले हस्तक्षेप गर्दा देश र जनताको रक्षक भइ उभिनु पर्ने आजको आवश्यकता हो ।

    देशमा अहिले विदेशिहरुको चलखेल व्यापक वढेको छ हाम्रो राष्ट्रियता जोखिममा छ भने दैनिक उपभोग्य वस्तु महंगीएर आकाशिएको  छ, वैदेशिक ऋण  प्रत्येक नेपालीको टाउकोमा बजारीएको छ, वेरुजु छ,भ्रष्टाचारले देश चपेटामा परेको छ , सामाजिक असुरक्षा वढ्दो छ, सामाजिक मान्यता र विश्वास घट्दो छ । हरेक राजनैतिक दलका नेताहरु कुन देशको दलाल हुने प्रतिस्पर्धाप चलिरहेको छ । नागरिकले के चाहेका छन भन्ने भन्दा पनि राजनैतिक पुर्वाग्रहले गर्दा देश र नागरिकलाई घाटा भएको महसुस नेताहरुले गर्न सकिरहेका छैनन ।

    उल्लेखित समस्या के हाम्रा देशका होइनन ? यदि हुन भने राजनैतिक पुर्वाग्रह नराखी सवै राजनैतिक दलका युवाहरु कार्यगत एकता गरि समस्याका विरुद्घ किन नलड्ने ? हाम्रा विचार सिद्धान्त फरक होलान तर  देशका समस्याहरु एउटै हुन ।  प्रयाप्त  छलफल गरि एकरुपतामा एउटा संघर्ष जरुरी देखिएको छ । पहिलो राष्ट्रिय स्वाधिनताको पक्षमा छलफल गरौ, दोश्रो भ्रष्टाचारका विरुद्ध छलफल गरौ ,तेश्रो महंगी कालोवजारी, चौथो सरकारमा हुदा राष्ट्रघाती र जनघाती समझौता हुने विरुद्घ खवरदरी गर्ने लगायतका विषयमा छलफल गरौ र नागरिकलाई जागरण वनाउदै असफल दलाल संसदीय व्यवस्थाको ठाउमा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने दिशामा अघि वढौ । के हामी यी कार्य गर्ने हिम्मत  गर्न सक्छौ त ? हामी युवाहरुले सक्नै पर्दछ । मन्द रहेको युवा आन्दोलनलाई एकतावद्घ र आम युवाहरुलाई आशाको दियो वनाउन सक्ने के राजनैतिक दलका युवा या कम्युनिस्ट युवाको क्रान्तिकारी दायित्ववोध हुन सक्ला ? प्रश्न हामी सामु जवरजस्त  तेर्सिएको छ  ।

    युवा संगठन नेपालको दायित्व के ?

    संगठन स्थापनाकाल देखि एकीकृत जनक्रान्तीको कार्यदिशामा लामवद्घ हुँदै नेपालमा नेपाली विशेषताको समाजवाद / वैज्ञानिक समाजवाद र  साम्यवाद स्थापित गर्न निरन्तर क्रान्तिमा आरोह अवरोह पार गर्दै अघि वढी रहेको नेकपाको सहायक संगठन हो । संगठनको काधमा नयाँ जिम्मेवारी छ त्यो जिम्मेवारी पूरा गर्न संगठन लागि परिरहेको छ । संगठन राष्ट्रिय स्वाधिनताको लडाईमा निरन्तर आवाज र सडकमा लड्दै आएको छ । भ्रष्टाचारका विरुद्ध निर्ममका साथ भिडिरहेको छ भने वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दलालहरुका विरुद्ध लडाई र संघर्ष गरिरहेको सर्वत्र जानकारी छ ।

    अहिले युवा संगठन नेपालको मुख्य दायित्व भनेको नेपाल देशलाई स्वाधिन वनाउन संघर्षलाई अगाडि वढाउनु दलाल पुजीवादी सत्तालाई उल्टाउदै त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद /  वैज्ञानिक समाजवाद – साम्यवादको लक्ष्यमा पुग्न एकीकृत जनक्रान्तिको कार्यदिशामा चट्टान झै अडिग हुँदै क्रान्तिको राँको बाल्नु हो । संगठनलाई आत्मनिर्भर बनाउन उत्पादनका कामहरु परिणाममुखी बनाउदै आम युवाहरुलाई उत्पादनको काममा सरिक गर्दै आफ्नै देशमा पसिना बगाउदै बाच्न र भविष्य  सुनिश्चित गर्न सकिन्छ भन्ने सन्देश मात्र होइन व्यावहारिक पुष्टि गर्न सकिन्छ । त्यो युवा संगठन नेपालको दायित्व हो  । सम्पुर्ण पार्टी भित्रका युवा  शक्ति माझँ एउटा नयाँ बहस र संकल्पको खाँचो अपरिहार्य बन्दै गएको छ । के त्यो महसुस गर्न सक्लान त ? राजनैतिक दलका युवा संगठनहरुले ।

    प्रतिकृया दिनुहोस्