News Portal

  • आबुखैरेनी – मुग्लिन सडकखण्ड दिउँसो २ बजेसम्म पनि बन्द

    जनगर्जन संवाददाता२०८१ भाद्र १०
    १०२ पटक

    काठमाडौं । मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्न आज बिहान साढे ३ घण्टा मात्रै बन्द गर्ने भनिए पनि करिब ८ घण्टासम्म पनि खुल्न सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायका अनुसार बस निकाल्न नसकिएकाले बाटो खुल्न अझै केही घण्टा समय लाग्ने बताएका छन । ‘एउटा मात्र क्रेनले बस निकाल्न नसकेपछि अर्को क्रेन मगाइएको छ,’ प्रवक्ता रायले भने, ‘बाटो खुल्न अझै केही घण्टा लाग्ने देखियो ।’

    यही भदौ ७ गते पोखराबाट भारतीय तिर्थयात्रीहरु लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । शवहरु संकलन गरी भारत लगिए पनि बस नदीमै छ । त्यसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।

    बस निकाल्न आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने सूचना जिल्ला प्रशासन कार्यालय तनहुँ र डिभिजन सडक कार्यालयले जारी गरेका थिए । तर दिउँसो १ बजेसम्म पनि बस बाहिर निकाल्न सकिएको छैन र सडक पनि खुलाइएको छैन ।

    स्थानीय प्रहरी प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म बाटो बन्द गरेर सवारी आवागमन बन्द गरिएपछि यात्रुहरु अलपत्र परेका छन् ।

    प्रतिकृया दिनुहोस्