News Portal

  • हाम्रा बेपत्ता पारिएका सन्तान कहाँ छन ? सार्वजनिक गरः बेपत्ता योद्धाका परिवार

    वसन्त वि. क.२०८१ आषाढ ५
    ९५ पटक

    काठमाडौं । माओवादी जनयुद्धका क्रममा राज्यद्धारा बेपत्ता पारिएका आफ्ना सन्तानहरु तुरुन्त सार्वजनिक गर्न परिवारजनहरुले नेपाल सरकारसंग माग गरेका छन ।

    काठमाडौको प्रज्ञा भवनमा सोमबार बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिकरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बेपत्ता योद्धाका परिवारजनहरुले राज्यले १८ बर्ष सम्म आफ्ना सन्तानहरु सार्वजनिक नगरेकोमा आपत्ति जनाउदै यथाशिघ्र सार्वजनिक गर्न माग गरेका हुन ।

    पीडित परिवारजनहरुले कहाँ छन हाम्रा सन्तानहरु ? कि त लास चाहियो ? कित सास चाहियो सरकार ! यो लोकतन्त्र र गणतन्त्र कस्को हो ? सरकार ! भन्दै गम्भीर प्रश्नहरु गरेका छन । बेपत्ता परिवारजनहरुले आफ्ना आफन्जहरुले अहिलको गणतन्त्र ल्याउने परिवर्तनका लागि ठुलो योगदान गरेपनि सन्तानको सास र लासका बारे जानकारी नदिनु दुख भएको बताएका छन ।

    बेपत्ता योद्धा विपिन भण्डारीका बुवा तथा बेपत्ता परिवार समाज नेपालका अध्यक्ष एकराज भण्डारीले राज्यको व्यवहारप्रति खरो आलोचना गर्दै आफ्ना सन्तानहरुको बारे सार्वजनिक गर्न जोडदार माग गरे । उनले हरेक नागरिकहरुको आफ्ना सन्तानकाबारे खोजि गर्नु नैसर्गिक अधिकार भएको भन्दै शान्ति प्रक्रिया सुरु भएको १८ बर्षसम्म पनि बेपत्ता योद्धाहरु किन सार्वजनिक गर्न नसकेको भन्दै सरकारलाई प्रश्न गरे ।

    उनले भने ‘सत्य निरुपण तथा मेलमिलाप आयोग कहाँ पुग्यो ? बेपत्ता योद्धाको छानविन आयोग कहाँ पुग्यो ? टिआरसी विधेयक कहाँ पुग्यो ? किन आज सम्म सरकारले बेपत्ता पारिएका योद्धाहरु सार्वजनिक गर्न चाहेन ? अब यथाशिघ्र सार्वजनिक गरिहोस ।’

    कार्यक्रममा बेपत्ता योद्धा दण्डपाणी न्यौपानेकी छोरी निशा न्यौपानेले आफ्नो सन्तानको अवस्था के छ ? जान्न पाउनु पर्यो सरकार ! कहाँ छन ? मेरो बुवा सार्वजनिक गर भनिन् ।

    उनले जनयुद्धमा बगेको रगत,बेपत्ता योद्धाको योगदान,घाईतेहरुको योगदान जनताको त्याग तपस्याले अहिलको व्यवस्था आएको भन्दै बेपत्ता नागरिक तुरुन्त सार्वजनिक गर्न माग गरिन ।

    एउटै घरबाट एकजना सहिद र २ जना बेपत्ता पारिएका योद्धाको आफन्त इन्द्रकेसरी श्रेष्ठले कार्यक्रममा भावकु हुदै आफना सन्तानको सार्वजनिक गर्न जोडदार माग गरिनन् । उनले भनिन् ‘अरु कुरा म जान्दैन,हाम्रा सन्तानहरु कहाँ छन ? सार्वजनिक गरिहोस । म मर्ने उमेरको भईसके मेरा सन्तानहरुको बारेमा जानकारी पाएर मर्छु । ए सरकार ! मेरा सन्तानहरु सार्वजनिक गर !’

    कार्यक्रममा सहिद तथा बेपत्ता सन्तति योद्धा फाउण्डेशन नेपालका तर्फबाट किरण पोखरेलले २०७२ को संविधानले सहिद तथा बेपत्ता योद्धाहरुको भावनालाई बोकेपनि नेताहरुले बोक्न नसकेको बताए ।

    शान्ति सम्झौता भएको ६० दिन भित्र बेपत्ता योद्धाहरुको वारे सार्वजनिक गर्ने भनिएपनि अहिलेसम्म सार्वजनिक गर्न नसक्नु दुख भएको बताए ।
    पोखरेलले बेपत्ता योद्धाको अवस्थाबारे सरकारले यथाशिघ्र सार्वजनिक गर्न माग गरे । उनले जसलाई घाउ नै छैन, उसलाई मलपट्टी लगाएको जस्तो नेपालमा भईरहेको भन्दै आज बेपत्ता योद्धाहरु त्यसकै चपेटामा परेको टिप्पणी गरे ।

    उनले आयोग तथा विधेयकहरु सत्ताको दाउपेज नबनाउन आग्रह गर्दै शान्ति प्रक्रियाका वाँकीकामहरु छिटो भन्दा छिटो सक्न र बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न पुनःमाग गरे ।

    २०५९ साल असार ३ गतेकै दिन तत्कालिन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विपिन भण्डारी, केन्द्रीय सदस्य दिलवहादुर राईलाई राज्यले पक्राउ गरी बेपत्ता बनाएको थियो । त्यस्तै असार ३ गतेकै दिन रामहरी रुपाखेति,देवराज पौडेल र कृष्ण बहादुर वस्नेतलाई पनि राज्यले पक्राउ गरि बेपत्ता बनाउको थियो । सोही दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रमा नेकपाका महासचिव विप्लव सी देखि विभिन्न राजनीतिक दलका नेता,नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरुले सम्वोधन गरेका छन । बेपत्ता योद्धा विपिन भण्डारीकी आमा सान्ता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आस्था सीले गरेकी थिईन ।

    प्रतिकृया दिनुहोस्