News Portal

  • सिंगो महिला समुदायलाई योग्य हुने वातावरण हामीले तयार गर्दैछौं : प्रमुख प्रजापति

    जनगर्जन संवाददाता
    १६३ पटक

    २०७९ फागुन ३० गते, मंगलबार
    भक्तपुर नगरपालिकाको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘समाजवादी आन्दोलन अगाडि बढाउन महिलाहरुको एकता’ विषयक प्रवचन मंगलबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
    कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिलालाई आरक्षणभन्दा हरेक क्षेत्रमा सक्षम बनाउँदै लानु आवश्यक भएको बताउनुभयो ।
    महिलाहरु साँचो अर्थमा समान रुपमा अगाडि बढ्न शिक्षा र रोजगारीमा महिलालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले भन्नुभयो, ‘सिंगो महिला समुदायलाई योग्य हुने वातावरण हामीले तयार गर्दैछौं ।

    उहाँले भन्नुभयो, समाजवादी व्यवस्थामा योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त र शिक्षा, स्वास्थ्य उपचार निःशुल्क तथा रोजगारीको सुनिश्चित हुने हुँदा कसैले भेदभावको अनुभूति नै गर्न पाउँदैनन् ।’
    भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीका कारण भएको परिवर्तनले गर्दा आज भक्तपुरको समाज तुलनात्मक रुपमा अगाडि बढेको बताउँदै उहाँले समाज परिवर्तनको निम्ति महिलाहरुको योगदान महत्वपूर्ण भएको चर्चा गर्दै पुँजीवादी निर्वाचन प्रणालीबाट एकाध महिलाहरुको मात्र हित भएको बताउनुभयो ।


    त्यस्तै उपप्रमुख रजनी जोशीले महिलाहरुलाई आरक्षणभन्दा पनि समान शिक्षा र व्यक्तित्व विकासमा समान अवसरको खाँचो रहेको बताउँदै महिलाहरुले आफ्नो उच्च शिक्षा सँग सँगै विज्ञता हासिल गर्ने ढंगले आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । २१ औं शताब्दीको लागि योग्य महिला बन्न महिलाहरुलाई शिक्षाको माध्यमबाटै अगाडि बढाउनुपर्ने आजको आवश्यकता हो, उपप्रमुख जोशीले भन्नुभयो ।
    नेपाल क्रान्तिकारी महिला संघ केन्द्रीय समितिका अध्यक्ष अनुराधा थापामगरले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको मुख्य उद्देश्य नेपालमा समाजवादी आन्दोलनलाई अगाडि बढाउनको निम्ति हो भन्नुभयो ।


    पुँजीपति पार्टीका महिला संगठनहरुले नारी दिवसको नाममा गलत मुद्दालाई अगाडि सार्दै महिला संघर्षकै धज्जी उडाउने काम गर्दै आइरहेको स्पष्ट पार्दै कामदार वर्गका महिलाहरुको अवस्थामा आमूल परिवर्तन ल्याउन समाजवादी व्यवस्थाको आवश्यकता भएको चर्चा गर्नुभयो ।
    उक्त प्रवचन कार्यक्रममा वडा सदस्य विष्णुकेशरी दुवालले चिनियाँ कम्युनिष्ट पार्टीका प्रथम महिला ‘शियाङ चिङ यू’ को जीवनी र वडा सदस्य सुमित्रा बोहजुले महिला योद्धा ‘ह्यारिट टबम्यान’ को जीवनी संक्षेपमा प्रस्तुत गर्नुभयो ।
    भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य छोरीमैंया सुजखुले पनि बोल्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्