News Portal

  • देउवा सरकारको हिंसाप्रेमी गतिविधि विरुद्ध नेकपासहित ४ पार्टीद्वारा भदौ ७ गते नेपाल बन्दको आब्हान

    जनगर्जन संवाददाता
    ४२९ पटक

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा भाद्र ७ गते नेपाल बन्दसहित संघर्षको कार्यक्रम घाेषणा गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा(माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ ले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै संघर्षको कार्यक्रम घाेषणा गरेका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीद्वारा जारी विज्ञप्तिमा देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी सम्झौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उल्लङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ध संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गर्दै सरकार गैरजिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको ठोकुवा गरिएको छ ।
    साथै विज्ञप्तिमा राज्यको यस्तो रवैयाको कडा रुपले निन्दा गर्दै यथासिघ्र एमसीसी र एसपीपी, पक्राउ पुर्जी र झुठ्ठा मुद्दाको खारेजी, सम्पूर्ण बन्दीको रिहाई र आकासिदो महङ्गी नियन्त्रण गर्न माग गरिएको छ ।

    ४ कम्युनिस्ट पार्टीद्वारा घोषित संघर्षका कार्यक्रमअन्तर्गत भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौँ उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा, भाद्र ६ गते देशव्यवपी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ ।

    विज्ञप्तिको पूर्ण विवरण…..

    आज मिति २०७९ साउन २७ गते हामी चार कम्युनिस्ट पार्टीको बैठक बसी देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुमा संघर्ष गर्न निम्न निर्णयहरु गरेका छौं । संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छौं ।

    १. हामी चार क्रान्तिकारी कम्युनिस्ट पार्टी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एम. सी. सी. संझौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ध संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्पष्टै छ । तर यो दलाल सरकार भने गैरजिम्मेवार तरिकाले प्रतिक्रिया विहीन भएर बसिरहेको छ । राज्यको यो रवैयाको हामी कडा रुपले निन्दा गर्दछौ र यथासिघ्र एम. सि सि. र एस.पि.पि. पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दी कमरेडहरुको रिहाई र आकासिदो महङ्गी नियन्त्रण गर्न माग गर्दछौं ।

    २. राज्य आतङ्क राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामीसंग जनजागरण, जनहस्तक्षेप र जनसंघर्ष गर्नु बाहेक अर्को विकल्प छैन । तसर्थ राज्य गलत बाटोमा हिड्ने जुन मूर्खता गरिरहेको छ त्यसलाई रोक्न चार कम्युनिस्ट ले जनसंघर्षका कार्यक्रमहरु घोषणा गरेका छौं । घोषित जनसंघर्षका कार्यक्रमहरुलाई पूर्ण सहयोग र समर्थन गरी जनविरोधी राज्यको हर्कतलाई परास्त गर्न हामी सम्पूर्ण प्रगतिशील, वामपन्थी, देशभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुलाई हार्दिक आग्रह गर्दछौं ।

    ३ जनताका मुद्दाहरुको बेवास्ता गरिएमा थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने जानकारी पनि यसै बक्तव्य मार्फत सार्वजनिक गर्दछौ ।

    संघर्षका कार्यक्रमहरु :

    > श्रावण २७ गते संघर्षका कार्यक्रमहरुको घोषणा,

    ★ भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने,

    > भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा,

    > भाद्र ६ गते देशव्यवपी मशाल जुलुस,

    ★ भाद्र ७ गते नेपाल बन्द । 

    प्रतिकृया दिनुहोस्