News Portal

२ अर्ब ठगी अभियोगमा ढोरपाटनका मेयर देवकुमार नेपाली २० लाख धरौटी बुझाउन नसक्दा कारागार चलान

दिनेश विकल्प२०८२ जेठ ८
९७ पटक

बागलुङ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई सहकारी ठगी अभियोगमा जिल्ला अदालत कास्कीले २० लाख रूपैयाँ धरौटी माग गरेपछि धरौटी बुझाउन नसक्दा उनलाई कारागार चलान गरिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि उनले तोकिएको धरौटी रकम बुझाउन नसकेपछि जिल्ला कारागार बागलुङ पठाइएको हो। अदालतको आदेश अनुसार उनीमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीसम्बन्धी मुद्दा चलाइएको छ।

नेपाली सूर्यदर्शन सहकारीका उपाध्यक्ष रहँदा आफ्नै खातामा ७७ लाख ५० हजार रूपैयाँ अनधिकृत रूपमा प्रवेश गराएको र हालसम्म उक्त रकम फिर्ता नगरेको अभियोगमा सरकारी वकिलको कार्यालय, कास्कीले उनलाई प्रतिवादी बनाएको हो।

सहकारीका तत्कालीन अध्यक्ष जिबी राईसँग विवाद भएपछि नेपालीले सूर्यदर्शन सहकारी छाडेर पोखरा र बागलुङमा छुट्टाछुट्टै ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरेका थिए। तर, पुरानो सहकारीबाट छुट्टिए पनि हिसाब मिलान नगरेकाले उनलाई मुद्दाको घेरामा पारिएको अदालतले जनाएको छ।

उनमाथि पोखरा र बागलुङमा सञ्चालन गरिएको दुई सहकारीमार्फत करिब दुई अर्ब रूपैयाँ ठगी गरेको अर्को अभियोगसमेत लागेको छ। सोही प्रकरणमा उनी १६ महिनासम्म फरार रहेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले २०८१ साल असोज ११ गते भारतको दिल्लीबाट उनलाई पक्राउ गरी नेपाल ल्याएको थियो।

सूर्यदर्शन सहकारीसम्बन्धी मुद्दाको पेसीका लागि अदालतले कारागार प्रशासनलाई पत्राचार गरी उनलाई उपस्थित गराएको थियो। यस्तै, पोखरास्थित इमेज सहकारीसम्बन्धी मुद्दाको अर्को सुनुवाइ बिहीबारका लागि तोकिएको छ।

प्रतिकृया दिनुहोस्