News Portal

प्रमुख तीन दलका शीर्ष नेताबीच आज भेटवार्ता, संक्रमणकालीन न्यायलगायत विषयमा छलफल हुने

जनगर्जन संवाददाता२०८१ चैत्र ११
३८ पटक

काठमाडौं । तीन प्रमुख राजनीतिक दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच आज सिंहदरबारमा भेटवार्ता हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अपराह्न ४ बजे भेटवार्ता तय भएको हो।

भेटवार्तामा संक्रमणकालीन न्याय (टीआरसी)को विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीबारे गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क गर्ने प्रयास जारी रहेको बताएका थिए। उनले पटक–पटक सम्पर्क गर्न खोज्दा सफल नभएको पनि जानकारी गराएका थिए।

यसअघि, चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेलले खुमलटारमा पुगेर प्रचण्डसँग छलफल गरेका थिए। टीआरसीको विषयलाई लिएर दलहरूबीच मतभेद देखिएको अवस्थामा आजको भेटवार्तालाई विशेष महत्वका साथ हेरिएको छ।

त्यसैगरी, आजको बैठकमा राप्रपालगायत राजावादी शक्तिहरूले बढाएको गतिविधि र गणतन्त्रवादी दलहरूको भूमिकाबारे पनि छलफल हुने बताइएको छ। राजावादीहरूको बढ्दो गतिविधिले गणतन्त्रमा चुनौतीको रूपमा देखिएको भन्दै दलहरूबीच साझा धारणा बनाउन प्रयास भइरहेको छ।

तीन दलबीचको यो भेटवार्ता राजनीतिक समिकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसले संक्रमणकालीन न्यायको प्रक्रियामा टुंगो लगाउने दिशामा प्रगति हुने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्