
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चैत १५ गते काठमाडौंमा हुने विरोध सभामा ठुलो संख्यामा सहभागी हुन पर्साका जनतालाई आग्रह गरेका छन् ।
माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत पर्साको बिन्दवासिनी गाउँपालिका, वहुअर्वामा शुक्रबार आयोजित खबरदारी सभामा सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारको आलोचना गर्दै विरोध सभामा सहभागी हुन आग्रह गरे।
उनले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई ‘उल्टो बाटोमा हिँडेको’ आरोप लगाउँदै भ्रष्टाचारको संरक्षण गर्ने सरकारको रूपमा चित्रित गरे। “अहिलको सरकार भ्रष्टाचारविरुद्ध होइन, संरक्षणमा जन्मिएको सरकार हो। लोकतन्त्रको मर्ममाथि प्रहार गर्दै जनताको हितविपरीत निर्णय गर्दै अगाडि बढिरहेको छ,” प्रचण्डले भने।
उनले सरकारको गलत क्रियाकलापले राम्रो गर्नेलाई दण्डित गर्ने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने प्रवृत्ति देखिएको भन्दै चैत १५ को विरोध सभा सरकारलाई सजग गराउन आवश्यक रहेको बताए। “हामी सबैको साझा लडाइँ हो, हामीले जित्नैपर्छ,” उनले जोड दिए।
प्रचण्डले उक्त विरोध सभाले देशको राजनीति सही ट्र्याकमा ल्याउने विश्वास व्यक्त गर्दै फेरि जनताको पक्षमा काम गर्ने वातावरण बन्ने आशा व्यक्त गरे। साथै, उनले मुकेश चौरासियालाई सहिद घोषणा गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
चैत १५ को विरोध सभा माओवादी केन्द्रका लागि महत्वपूर्ण हुने बताउँदै प्रचण्डले जनताले ठुलो संख्यामा सहभागिता जनाई सरकारलाई दबाब दिन आग्रह गरेका छन्।