News Portal

सी जाति बारे क. आहुतिको टिप्पणी माथि गरिएको टिप्पणी:- रामलाल सी

जनगर्जन संवाददाता२०८१ मंसिर ३०
१६६ पटक

हालै एउटा कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी का महासचिव कमरेड आहुतिले हाम्रो पार्टीको एक नेता प्रति इंगित गर्दै सी जातिको प्रसङ्ग जोडेर उहाँलाई होच्याउने र खिल्ली उडाउने प्रकारको अत्यन्तै भद्दा एवं हल्का टिप्पणी गर्नुभएछ । क. आहुति एकजना अध्ययनशील कम्युनिस्ट नेता एवं लेखक हुनुहुन्छ र उहाँ प्रति हामीलाई गर्व लाग्छ र सम्मान पनि छ । तर उहाँजस्तो अध्ययनशील व्यक्तिले सी जाति बारे हाम्रो समग्र अवधारणा नै अध्ययन नगरी हल्का टिप्पणी गरेकोमा आश्चर्य लागेको छ । सी जाति को अवधारणा हामीले हल्का तरिकाले नल्याएर हाम्रो पार्टीको नवौं महाधिवेशन बाट सर्वसम्मत पास भएको विषय हो । उहाँको यसप्रकारको टिप्पणी प्रति म दुख एवं खेद प्रकट गर्न चाहन्छु ।

द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको नियम अनुसार कुनैपनि वस्तु वा शब्द इतिहासको आवश्यकताले निर्माण हुन्छन् र समाप्त हुन्छन् । तर यो आफै हुँदैन । यसमा मानव जातिको सचेत प्रयत्नको आवश्यकता पर्दछ । नेपाल र संसारकै जाति प्रथा पनि यही प्रक्रियामा निर्माण भएका र परिवर्तन हुँदै आएका हुन । हामीले अगाडि सारेको सी जातिको बहस पनि यही प्रक्रियाकै एउटा पहल हो । यही नै अन्तिम सत्य हामीले भनेका छैनौं । यो बहसको एउटा शुरुआत हो ।

सी जाति बारे भएका टिप्पणी माथि प्रति टिप्पणी
) यो कमरेड शब्द बाट निर्माण भएको हो ?
सी शब्द कमरेड बाट नभएर – कम्युनिस्ट (communist) वा समान(common) शब्दलाई प्रतिनिधित्व गर्छ ।
) जाति लुकाएर वा जात बाट भागेर समस्या समाधान हुँदैन । आफ्नो जात वा जाति प्रति गर्व गर्नुपर्छ ?
हामीले जात वा जाति लुकाएको नभएर यसलाई अर्को रुपमा उठाएका वा परिवर्तन गरेका हौं । विकसित गरेका हौं । जहाँ सम्म आफ्नो जाति प्रति गर्व गर्ने कुरा छ यो सही छैन । यदि कथित दलित समुदायले आफू प्रति गर्व गर्ने हो भने यो सिद्धान्त अनुसार त अरु कथित उच्च जातिले पनि आफू प्रति गर्व गर्नुपर्ने हुन्छ । यसप्रकार आ-आफ्ना जाति र समुदाय प्रति गर्व गर्ने कुराले हामीलाई अन्तर्घुलन बनाउदैन र रुपान्तरण तिर लादैन ।
३) भारतमा महात्मा गान्धीले अछुतलाई हरिजनको नामाकरण गरे तर यसको समाधान भएन । यो सी थर राख्ने कुरा पनि त्यस्तै हो ?
भारतमा महात्मा गान्धीले कथित अछुत जातिलाई मात्र हरिजन नामाकरण गरेका थिए, अरु जातिलाई जस्ताको त्यस्तै राखेका थिए । तर हामीले यहाँ कथित दलित समुदाय मात्र नभएर अन्य सम्पूर्ण जातिहरु जस्तै: ब्राह्मण-क्षेत्री, आदिवासी-जनजाति, मधेसी र मुस्लिम आदि सबैका पुरानो जातिगत पहिचान दिने थर परिवर्तन गरि नयाँ थर निर्माण गर्ने कुरा गरेका छौं । कथित अछुत लाई मात्र होइन ।
४) थर वा जात फेरेर मात्रै केही हुँदैन ?
हामीले जात वा थर मात्र फेर्ने कुरा गरेका छैनौं ।
हामीले सी जाति को आफ्नै नयाँ राज्य व्यवस्था, आफ्नै नयाँ अर्थ प्रणाली, नयाँ सी संस्कार-संस्कृति र अन्ततः यसको आफ्नै नयाँ मानव सभ्यताको कुरा गरेका छौं ।
) पुरै जात र जाति अन्त्य पो गर्नु पर्छ झन अर्को नयाँ जाति निर्माण गर्नु सही हुँदैन ?
हाम्रो उद्देश्य पक्कै पनि एकदिन यो संसारलाई वर्गविहीन, राज्यविहीन, जातिविहीन र सबैखाले शोषण र असमानता बाट मुक्त गर्ने हो । तर जसरी एकैपटक राज्यविहीन बनाउनु भन्दा पहिला नयाँ राज्य बनाएर क्रमिक रुपमा समाजलाई राज्यविहीन तिर रुपान्तरण गर्ने कुरा मार्क्सवादले गरेको छ त्यसैगरी जाति उन्मुलन गर्नुभन्दा पहिला नयाँ जाति निर्माण गर्ने कुरा द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट वस्तुवादी र सही छ ।

प्रतिकृया दिनुहोस्