News Portal

  • तीन दिन भारी वर्षाको सम्भावना,गण्डकी प्रदेश उच्च जोखिममा

    महाशाखाले उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङलाई उच्छ जोखिममा राखेको छ

    जनगर्जन संवाददाताशनिबार ,असार २१,२०८१
    १८६ पटक

    काठमाडौ । नेपालमा मौसम को आगमन संगै हिजोदेखी सक्रिय रुपमा वर्षा भैरहेको छ ।आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बिहीबार तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङलाई उच्छ जोखिममा राखेको छ ।

    लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ ।

    कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।

    विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।

    सबै क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।

    प्रतिकृया दिनुहोस्