News Portal

  • रास्वपाको आज बसेको बैठकले नयाँ सरकारमा नजाने निर्णय

    जनगर्जन मंगलबार ,असार १८,२०८१
    १३४ पटक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।

    आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने निर्णय गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन ।

    नेकपा एमाले ले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा जान रातारात गरेको सहमतिले सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

    यही विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो । बैठकपछि नेता सन्तोष परियारले पनि कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भएकाले सरकारमा सहभागी नहुने बताए ।

    उनले भने, ‘यो जनताको हितमा छ भन्ने लाग्दैन, यसले राजनीतिक स्थायित्व दिन्छ भन्ने हामीलाई लाग्दैन । यद्यपि यो घटना अघि बढिसकेपछि अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, हामी सरकारमा जाँदैनौं ।’
    अर्को सरकार बन्ने प्रक्रिया अघि बढ्नेवित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारबाट बाहिरिने उनले बताए ।

    प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

    प्रतिकृया दिनुहोस्