News Portal

भारत–चीन सम्झौता नेपालको सार्वभौमिकता माथि गम्भीर आघात : समाजवादी मोर्चा

जनगर्जन संवाददाता२०८२ भाद्र ६
७८ पटक

काठमाडौं । समाजवादी मोर्चा, नेपालले भारत र चीनबीच हालै पुराना–गुर्जुलीलाई जोड्ने लिपुलेक व्यापारिक नाका पुनःसञ्चालन गर्ने सहमति नेपालप्रति गम्भीर आघात भएको टिप्पणी गरेको छ ।

मोर्चाले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा ऐतिहासिक प्रमाण अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएको स्पष्ट गरिएको छ । यस्ता भूभागलाई भारत–चीनबीच आपसी सहमति मार्फत व्यापारिक प्रयोजनमा प्रयोग गर्नु नेपालका लागि अस्वीकार्य भएको मोर्चाले जनाएको छ ।

“नेपालको भूभागमा भारतको दीर्घकालीन अतिक्रमण जारी छ । यसबीचमा भारत–चीनबीच कुनै पनि किसिमको समझदारी, सम्झौता वा सहमति नेपालका लागि मान्य हुन सक्दैन,” वक्तव्यमा उल्लेख छ ।

मोर्चाले नेपाल सरकारले यस विषयलाई गम्भीरतापूर्वक उठाउनुपर्नेमा जोड दिंदै लिपुलेक प्रकरणमा तत्काल कूटनीतिक पहल गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न आग्रह गरेको छ । साथै, सत्य–तथ्य सार्वजनिक गर्दै नेपालको भूभाग फिर्ता ल्याउन ठोस कदम चाल्न सरकारलाई सुझाव दिएको छ ।

समाजवादी मोर्चाको विज्ञप्ति विप्लव सी, माधव नेपाल, प्रचण्ड र महेन्द्र राय यादवले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस्