News Portal

रसुवा बाढी अपडेट: ११ जना उद्धारकर्मीसमेत खोलाको बीचमै फसे, हेलिकप्टरमार्फत उद्धारको तयारी

जनगर्जन संवाददाता२०८२ आषाढ २४
१४ पटक

रसुवा । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीले रसुवा जिल्लाको टिमुरे नजिक रहेको मितेरी पुल बगाएको छ । चीनसँगको व्यापारिक नाका बन्द हुने गरी पुल बगाएपछि सीमावर्ती क्षेत्रमा आपतकालीन अवस्था सिर्जना भएको छ।

बाढीका कारण टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा पार्किङ गरिएका कन्टेनर गाडी, विद्युतीय सवारीसाधनलगायतका सामानहरू बगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार बाढीपछिको उद्धार प्रयासका क्रममा ११ जना उद्धारकर्मी नै खोलाको बीचमै फसेका छन्। उनीहरूको सकुशल उद्धारका लागि नेपाली सेनासँग हेलिकप्टरमार्फत उद्धार गर्न अनुरोध गरिएको अधिकारीले बताए।

बाढीले रसुवागढी जलविद्युत आयोजनामा कार्यरत कर्मचारीसमेत चपेटामा परेको प्रारम्भिक जानकारी आएको छ। तर, अहिलेसम्म मानवीय क्षतिका विस्तृत विवरण भने उपलब्ध भइसकेको छैन।

हाल बाढीले कति भौतिक तथा मानवीय क्षति पुर्‍याएको छ भन्नेबारे यकिन तथ्याङ्क संकलन भइरहेको प्रशासनले जनाएको छ। उद्धार तथा राहत कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएका छन्।

प्रशासनले स्थानीयवासीलाई थप सतर्कता अपनाउन अनुरोध गरेको छ भने सीमा क्षेत्रमा हुने आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

प्रतिकृया दिनुहोस्