News Portal

देशभर आंशिकदेखि साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

जनगर्जन संवाददाता२०८२ आषाढ २
२१ पटक

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशको पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको महाशाखाले जानकारी दिएको हो।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा समेत हिमपातको सम्भावना छ।

आज रातिको मौसम पनि आंशिकदेखि साधारणतया बदली हुने अनुमान गरिएको छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुन सक्ने भएकाले सावधानी अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्