
कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका वडा न१ सुखड मा हुने‘एकेडेमिया इन्डष्ट्रि डाइलग’( शैक्षिक उद्योग अनुशिक्षण)मा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने भएका छन् ।घोडाघोडी क्याम्पसद्वारा आयोजित उक्त कार्यक्रममा विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले जानकारी दिएका छन् ।
जेठ २ गते बिहान ९:३० बजे उद्घाटन गरिने कार्यक्रमलाई प्रमुख बक्ताको रूपमा सम्बोधन गरिसके पछि महासचिव विप्लवले दिउँसो हुने शेसनमा `नेपालमा कृषि क्रान्ति संभावना र चुनौती´ शीर्षकमा ९० मिनेटको प्रस्तुति दिने कार्यतालिका रहेको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए।
क्याम्पस प्रमुख भट्टराईका अनुसार शिक्षालाई श्रम र उद्योगसङ्ग कसरी जोड्ने र युवाहरूको बिदेश पलायनता घटाउन के गर्न सकिन्छ भन्नेबारे अभिप्रेरित गर्न कार्यक्रम आयोजना गरिएको बताए ।उनले विप्लवले अहिले देशव्यापी कृषि उत्पादनद्वारा युवाहरुमा आशाको सञ्चार गरिरहेकोले उहाँको परिकल्पना र अनुभव शिक्षक, विद्यार्थी लगायत नागरिकका लागि महत्त्वपूर्ण हुने अपेक्षा रहेको बताए ।
‘एकडेमिया इन्डष्ट्रि डाइलग’ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, पत्रकार एवं लेखक नारायण वाग्ले, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार डा. यज्ञराज पाठकले विभिन्न विषयमा प्रस्तुति दिने कार्यतालिका रहेको जनाइएको छ ।