News Portal

आज अन्नपूर्ण पोस्ट् साइकल र्‍याली हुँदै

जनगर्जन संवाददाता
१०८२ पटक

काठमाडौं : सातौं संस्करणको अन्नपूर्ण पोस्ट् साइकल र्‍याली ‘राइड फर लाइफ’ शनिबार बिहान हुँदै छ। क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष साइकल र्‍याली आयोजना गर्दै आएको छ।

यसपटक ‘क्यान्सरविरुद्ध चेतना छरौं, वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ भन्ने नारा तय गरिएको छ।अन्नपूर्ण मिडिया नेटवर्क मानव संसाधन विभागकी डेपुटी म्यानेजर इन्दु श्रेष्ठले र्‍यालीमा १५ सयभन्दा बढी राइडरको सहभागिता रहने जानकारी दिइन्। ‘यसपटकको र्‍याली झनै भव्य हुनेछ।

अन्नपूर्ण मिडिया नेटवर्कले सात वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल र्‍यालीको आयोजना गर्दै आएको छ’, डेपुटी म्यानेजर श्रेष्ठले भनिन्, ‘यो वर्ष पनि सोही उद्देश्यसहित र्‍याली आयोजना गर्दै छौं। र्‍यालीको अर्को उद्देश्य वातावरण स्वच्छ बनाउन जनचेतना जगाउनु पनि हो।’ श्रेष्ठका अनुसार बर्सेनि आयोजना हुँदै आएको र्‍यालीले धेरै मानिसलाई साइकल चढ्न र स्वस्थ बन्न थप प्रेरितसमेत गरेको छ।

र्‍याली बिहान ७ः०० बजे तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भई गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै आइपुगेर टुंगिनेछ।

प्रतिकृया दिनुहोस्