News Portal

  • सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो : गंगानारायण श्रेष्ठ

    जनगर्जन संवाददाता२०८० चैत्र ३
    १०८ पटक

    चैत ३, काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न लागेको बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा(माओवादी केन्द्र) सँग एकता गर्न लागेको बताएका हुन्

    उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्ने कुरा सत्य नभएको बताए । उनले नेसपाले गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताए ।

    श्रेष्ठले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमति भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताए । उनले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडीको सहमति अनुरूप अगाडि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताए ।

    ‘अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि । नेपाल समाजवादी पार्टीको बैठक बसेको हो । नेपाल समाजवादी पार्टीमा फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन’ श्रेष्ठले भने, ‘यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन । नेपाल समाजवादी पार्टी । सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो ।’

    सहअध्यक्ष श्रेष्ठले आफूहरूले नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानुनी रूपमा आफूहरू माओवादी केन्द्रको सांसद भएको बताए । आफूहरूले कुनै सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उनले विगतको पार्टी एकता गर्ने निर्णयमा इमानदार र प्रतिबद्ध भएर लागेको बताए । उनले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म बागमती प्रदेश सरकारको मन्त्री भए पनि त्यो विगतमै भएको बताए । सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरू पार्टी एकताको विरोधी भएका उनको भनाई छ ।

    ‘पार्टीगत हिसाबले नेपाल समाजवादी पार्टीको हामी नेता हौँ । तर कानुनी हिसाबले, संसदीय दलमा आवद्ध भएको हिसाबले हामीले एकल चुनाव चिन्हमा चुनाव लडेको कारण नेपाल समाजवादी पार्टीको नभएर नेकपा(माओवादी केन्द्र)को संसदीय दलको सदस्य हौँ । हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडि महेन्द्रजी यहाँ मन्त्री हुनुभयो । अहिले पुनर्गठनमा पर्नुभएन’ उनले भने– ‘मैले मन्त्री पद जोगाइदेऊ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन । राजनीतिक ढंगले हामीले जुन निर्णय गर्‍यौँ नि पार्टी एकता गर्ने, त्यो निर्णयमा इमानदार भएर, प्रतिबद्ध रहेर हामी अगाडि आइराखेका छौँ ।’

    सहअध्यक्ष श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरूलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताए ।

    ‘दुई पार्टी सँगसँगै अरू पार्टीहरूलाई पनि एकताको निम्ति तयार गर्दै लैजानुपर्छ भनेर पनि हाम्रो छलफल चलेको छ । तिथि मिति नै घोषणा गर्ने खालको अवस्था त नहोला । छिटोभन्दा छिटो पार्टी एकता टुंग्याउँछौँ’ उनले भने ।

    प्रतिकृया दिनुहोस्