News Portal

  • वर्तमान आर्थिक ,राजनीतिक संकट त्यसले आमसन्चारमा परेको प्रभाव विषयक कपिलवस्तुमा पत्रकारहरुको बहस

    जनगर्जन संवाददाता२०८० फाल्गुण २८
    १२९ पटक

    कपिलवस्तु । हाल देशमा उत्पन्न भएको बर्तमान आर्थिक संकट र राजनीतिक अस्थिरताका कारण मोफसलका मिडिया र सञ्चारकर्मीको अवस्था निकै जर्जर भएकोले राज्यले तत्काल प्याकेज ल्याएर संकट समाधानको पहल गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन।सोमबार जनपत्रकार संगठन नेपाल कपिलवस्तु जिल्ला समितिले जिल्लाको चन्द्रौटामा आयोजित अन्तर्कृयामा बोल्ने अधिकाङ्श बक्ताहरुले अहिलेको आर्थिक संकटको सबैभन्दा बढी प्रभाव मिडिया परेको र पत्रकारहरुले पेशा परिवर्तन गर्नुपर्ने वा पत्रकारिता छोडेर पलायन हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका छन।

    `वर्तमान आर्थिक- राजनीतिक संकट र त्यसले मिडियामा पारेको प्रभाव बिषयक´ कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्माले आर्थिक संकट र कोभिड पछिको स्थितिका कारण आमसञ्चार क्षेत्र र बिशेषत स्वोरोजगारमूलक मोफसलका मिफियाहरु उठ्नै नसक्ने गरि संकटको दलदलमा फसेको भन्दै राज्यलाई प्याकेज ल्याउनका लागि पहल गर्न नेपाल पत्रकार महासंघले दबाब आन्दोलन गर्नुपर्ने बताए।”आर्थिक संकटको कारण बिज्ञापन बजार संकुचित भएको छ,बिज्ञापनको अभावकाबीच सञ्चारमाध्यमहरु टिक्न र बाच्न संभव छैन, सञ्चारमाध्यम कमजोर हुनु भनेको लोकतन्त्र ,नागरिकको आवाज र न्यूनतम मानवअधिकार समेत कमजोर हुनु हो”- अध्यक्ष बिश्वकर्माले भने -“आवजबिहिनहरुको आवाज र समाजको पहरेदार मानिएका सञ्चारमाध्यमहरु यसरी नै सुक्दै जाने हो भने शासक र सत्तालाई प्रश्न कसले गर्छ, यस्तोबेला सत्ता झन निरङ्कुश र फासिवादतिर उन्मुख हुने खतरा हुन्छ, त्यसैले अब ढिला नगरि महसंघले पहल लिनुपर्छ र जनअधिकारको रक्षाको लागि दबाब आन्दोलनमा अगाडि बढ्नुपर्छ ।

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले महासंघ श्रमजीवी पत्रकारहरूको अबिभावक र साझा संस्था भएको भए पनि कतै यो आफ्नो उदेश्यबाट यताउता बिचलित त भएको होइन भन्ने प्रश्न गर्दै अहिले राज्य सञ्चार सम्बद्ध नीतिहरुको कार्यान्वयनमा मात्रै नभै अन्य नीतिहरुको बिश्वसनिय कार्यान्वयनमा समेत असफल हुँदै गएको टिप्पणी गरे।

    सामुदायिक रेडियो प्रशारक संघ( अकोराव) लुम्बिनीका अध्यक्ष राजु खरालले राज्यको चौथो अंग मानिएको पत्रकार बाहेक अन्य तीन अंगहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई राज्यले नै आबश्यक व्यवस्था गरिएको तर चौथो अंगलाई उपेक्षा गरिएको र रेडियोहरुको फ्रीक्विन्सी बितरणमा केन्द्र, प्रदेश र स्थानीय तहहरुमा स्पस्ट नीतिगत व्यवस्थाको अभाव रहेकोले बताए।

    प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष जानु पाण्डेले सञ्चारकर्मी कै कारण अहिलेसम्मका सबै आन्दोलनहरु सफल भएको तर आन्दोलनबाट उदाएका सत्तासीन नेताहरू नै मिडिया व्यवस्थापनमा गैरजिम्मेवार रहेको भन्दै अहिलेको आर्थिक संकटको सबैभन्दा बढी प्रभाव मिडियामा परेकोले यसको उद्दारका लागि राज्यले ठोस नीति अगाडि सार्नुपर्ने माग गरे।

    त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तु उपाध्यक्ष श्वेता गिरीले महासंघले गर्नुपर्ने काम जनपत्रकार संगठन नेपालले गरेर महासंघलाई समस्या समाधानको पहलका लागि अन्तर्कृयाले प्रेरित गरेकोले आफुहरु सबैसङ्ग सम्बाद गरेर अहिलेको संकटबाट निकास दिन लाग्ने प्रतिबद्धता व्यक्त गरिन।

    अन्तर्कृयामा प्रेस युनियन नेपालका केन्द्रिय सदस्य सोनी उल्लाधोवीले मिडियाहरु अहिले निकै जर्जर अवस्थामा रहेको र जहिल्यै अरुका बिषयमा कुरा गर्ने पत्रकारहरू यतिबेला आफ्नो पेशा र समस्याबारे गम्भीर हुनुपर्ने बेला आएको भनाइ राखेका थिए।

    उध्योग बार्णिज्य महासंघ चन्द्रौटाका बरिस्ठ उपाध्यक्ष पारशमणी पाण्डेले अहिले उध्योगी व्यावसायीहरु आर्थिक संकटमा रहेकोले बिज्ञापन दिन सक्ने अवस्था नरहेको, बैंक ब्याज तिर्न नसकेर उध्योगीहरुको सम्पत्ति लिलाम भैरहेकोले साझा समस्या समाधानमा आन्दोलन अपरिहार्य भएको भन्दै सरकार कान नसुन्ने बहिरो भएको पाण्डेको भनाइ थियो।

    रास्ट्रीय दलित पत्रकारसंघका सम्भु बिश्वकर्माले अहिले आर्थिक सङ्कटका कारण मिडियाहरु निकै पीडित रहेका बेला स्थानीय तहहरुले दिने बिज्ञापन समेत राजनीतिक पहुँच र आर्थिक लेनदेनको सेटिङको आधरमा हुने गरेकोले तत्काल यसलाई सच्याउन जरुरी रहेको धारण राखे।

    रास्ट्रीय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष बिष्णुप्रसाद खतिवडाले साझा समस्या समाधानका लागि संयुक्त आन्दोलन हुन नसकेले नै राज्य गैरजिम्मेवार भएको बताएका थिए।

    कपिलवस्तुको चन्द्रौटामा रहेको रेडियो शिवराजका समाचार सम्पादक माधव बेल्बासेले देशभर रहेका करिब १२ सय रेडियो मध्ये अहिले ६सय भन्दा कम मात्रै सञ्चालनमा रहेको, रेडियोमा काम गर्न कर्मचारीको कटौती गर्नुपर्ने अवस्था आएको र लोककल्याणकारी बिज्ञापन कटौती विरुद्ध महासंघको अगुवाईमा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका थिए।

    प्रेस युनियनका जिल्ला सचीव कृष्ण गैरेले बिगतमा २ देखि ३ सय बिज्ञापन पाउने सञ्चारगृहरु अहिले ५/६ ओटा बिज्ञापन पनि पाउन नसक्ने अवस्थामा रहेकोले आर्थिक संघकटको मिडियामा गम्भीर प्रभाव रहेको उनको भनाइ थियो।कार्यक्रमलाई जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एवम् कपिलवस्तु संयोजक मनबहादुर सहकारीले सहजीकरण गरेका थिए।

    प्रतिकृया दिनुहोस्