News Portal

एसईई नतिजामा उल्लेखनीय सुधार, उत्तीर्ण दर ६१.८१ प्रतिशत पुग्यो

जनगर्जन संवाददाता
२० पटक

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ सहभागी भएका विद्यार्थीमध्ये ६१.८१ प्रतिशत ग्रेडेड (उत्तीर्ण) भएका छन्।

गत वर्ष मात्र ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यसपटक सो संख्या बढेर ६१.८१ प्रतिशत पुगेको छ। यस अनुसार एसईईको नतिजामा १३.९५ प्रतिशतको सुधार देखिएको छ।

एसईई परीक्षा २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धि (पूरक परीक्षा) तर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। यस वर्ष १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ।

गत वर्षको कमजोर नतिजापछि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शिक्षा मन्त्रालयसम्मले त्यसप्रति गम्भीर चासो देखाएका थिए। प्रधानमन्त्री ओलीले एसईई नतिजा सुधार गर्न विशेष निर्देशनसमेत दिएका थिए, जसको असर यो वर्षको नतिजामा परिलक्षित भएको देखिन्छ।

प्रतिकृया दिनुहोस्