News Portal

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले हिरासतमा तेस्रोपटक ‘कालो टीका’ लगाएको आरोप, निष्पक्ष न्यायप्रति आशंका व्यक्त

जनगर्जन संवाददाता२०८२ बैशाख २६
६१ पटक

काठमाडौं । राप्रपाका उपाध्यक्ष तथा पूर्वपत्रकार रवीन्द्र मिश्रले आफूलाई राज्यले नियोजित रूपमा तेस्रोपटक ‘कालो टीका’ लगाएको आरोप लगाएका छन्। संगठित अपराध र राज्यविरुद्धको अभियोगमा ४१ दिनदेखि प्रहरी हिरासतमा रहेका मिश्रमाथि अब पुनः आपराधिक उपद्रवको आरोप थपिएको छ।

उनले बिहीबार अदालतमा बयान दिँदै आफूले अझै पनि नेपाली न्यायालयमा टीका पुछ्ने अधिकार र निष्ठा बाँकी रहेको विश्वास व्यक्त गरे। मिश्रले भने, “म अदालतप्रति सम्मानजनक र आशावादी छु, तर बयान सकिएपछि पनि म्याद थपिनु अत्यन्तै आश्चर्यजनक र निराशाजनक छ।”

मिश्रका अनुसार यो घटनाक्रम आफूलाई नियोजित ढंगले अपमानित गर्न र सामाजिक तथा राजनीतिक छवि धूमिल पार्न गरिएको हो। उनले यसलाई ‘तेस्रोपटक कालो टीका’ लगाइएको संज्ञा दिएका छन्। पहिले दुईपटक पनि राजनीतिक पूर्वाग्रहका आधारमा आफूविरुद्ध आरोप लगाइएको उनले उल्लेख गरे।

४१ दिनको हिरासतपछि पनि थप म्याद मागिएको घटनाले उनको मुद्दा न्यायिक प्रक्रियाभन्दा बढी राजनीतिक उद्देश्यसहित अघि बढाइएको भन्ने शंका उत्पन्न भएको छ। मिश्रको समर्थनमा राप्रपाका नेताहरू तथा उनका शुभेच्छुकहरूले निष्पक्ष न्यायको माग गर्दै सामाजिक सञ्जालमा आवाज उठाइरहेका छन्।

प्रतिकृया दिनुहोस्