News Portal

  • कालोसूचीमा परे योहो टेलिभिजन सहित ४ वटा सन्चारमाध्यम

    जनगर्जन २०८१ कार्तिक २६
    ५० पटक

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न योहो टेलिभिजन सहित ४ वटा सञ्चार माध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ भने विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको छ ।

    काउन्सिल गरेको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुस्ट्याइँ बिना सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।यसैगरी दसैँ अघि पनि काउन्सिलले अटेर गरेको भन्दै ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।

    आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन गरि जम्मा ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको हो । काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ ।

    कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरूमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन् । काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत पठाएको जानकारी गराएको छ ।

    त्यसैगरी आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारवाहीका लागि काउन्सिलले ७ वटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । त्यसमा दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइन टिभि नेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभी र विजीटिभी (युट्युब च्यानल) छन् ।

    काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एसोसिएसनको समेत प्रतिनिधित्व रहेको हुन्छ ।

    प्रतिकृया दिनुहोस्