जनगर्जन संवाददाता२०८२ आषाढ २४

रसुवा । चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ । उक्त बाढीमा परेर हालसम्म १८ जना बेपत्ता भएका छन्, जसमा तीनजना सुरक्षाकर्मी पनि छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरेका तीन जना प्रहरीहरू बाढीमा बेपत्ता भएका हुन् ।
बेपत्ता हुने सुरक्षाकर्मीहरूमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार र खोजतलासमा खटिएको छ । बाढीले नेपाल–चीन सिमानाको मितेरी पुल बगाउनुका साथै टिमुरे भन्सार क्षेत्रका कन्टेनर र अन्य सामग्रीसमेत बगाएको छ ।
बाढीको असर क्षेत्रको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । उद्धार कार्य निरन्तर भइरहेको छ ।
