News Portal

रसुवा बाढी अपडेट:-रसुवामा चीनबाट आएको बाढीले ठुलो क्षति, १८ जना बेपत्ता

जनगर्जन संवाददाता२०८२ आषाढ २४
१३ पटक

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। हालसम्म प्राप्त विवरण अनुसार कम्तिमा १८ जना बेपत्ता भएका छन्, जसमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र १ प्रहरी जवान रहेका छन्।

एक जना प्रहरी भने नदीको बीच भागमा सुरक्षित रहेको जानकारी दिँदै सम्पर्कमा आएका छन्। त्यस्तै, नदीको बीचमै फसेका ९ जनाको सफल उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्यमा खटिएका छन्।

“बाँकी बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा जारी छ,” अधिकारीले बताए।

सोमबार राति आएको बाढीले रसुवागढी जलविद्युत् आयोजना, भन्सार कार्यालय, सुख्खा बन्दरगाह लगायतका संरचनामा गम्भीर क्षति पुर्‍याएको छ। सुख्खा बन्दरगाहमा पार्किङ गरिएको ७ वटा इलेक्ट्रिक (इभी) गाडी समेत बगाएको पुष्टि भएको छ।

हाल उद्धार टोली घटनास्थलमा खटिएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार तथा सुरक्षाका कार्यहरू तीव्र रूपमा अघि बढाइएका छन्।

सरकारले पनि बाढी पीडितको उद्धार तथा राहतमा सबै स्रोत साधन प्रयोग गर्ने बताएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्