News Portal

आज हरिशयनी एकादशी, घरघरमा तुलसी पूजाको आरम्भ

जनगर्जन संवाददाता२०८२ आषाढ २२
१० पटक

काठमाडौँ ।आज आषाढ शुक्ल एकादशीका अवसरमा घरघरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजा आराधना सुरु गरिएको छ । आजदेखि चार महिनासम्म विशेष विधिपूर्वक गरिने यो पूजालाई चतुर्मास व्रत पनि भनिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ र आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, आजदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यो अवधि चतुर्मासको रूपमा मनाइन्छ ।

एक वर्षमा पर्ने २४ एकादशीमध्ये चतुर्मास अवधिमा पर्ने आठ एकादशी विशेष महत्वपूर्ण मानिन्छन् । सबै एकादशीमा फलाहार गरेर व्रत बस्न नसक्नेहरूका लागि हरिशयनी एकादशी र हरिबोधिनी एकादशी विशेष दिनका रूपमा व्रत बस्ने चलन छ ।

आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, चार नारायण मन्दिरलगायत देशभरका विष्णु मन्दिरमा भक्तजनको उल्लेखनीय सहभागिता देखिएको छ । एकादशीको दिन विशेषगरी चामल परित्याग गरेर फलाहार, रोटी, ढिँडो आदि खाने परम्परा रहेको छ ।

वैज्ञानिक दृष्टिकोणले पनि तुलसी बिरुवाले अधिक अक्सिजन उत्पादन गर्ने र विभिन्न रोगहरूसँग लड्न सहयोग गर्ने पुष्टि भएको छ । तुलसीको मोठ भएका स्थानमा रोग सर्ने कीटाणु नआउने विश्वास गरिन्छ भने वास्तु दोष हटाउन पनि तुलसीको विशेष महत्व छ ।

चार महिना पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशीका दिन दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । त्यसपछि अग्निस्थापनासहित चतुर्मास व्रतको उद्यापन हवनमार्फत गरिन्छ ।

प्रतिकृया दिनुहोस्