
बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक आधुनिक प्रविधिमा आधारित ई-पालिका सेवा सुरु गरेको छ। प्रशासनिक कार्य प्रणालीलाई पूर्णतः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यसहित सुरु गरिएको यो सेवा स्थानीय सरकारको आधुनिकिकरणतर्फको उल्लेखनीय कदमका रूपमा हेरिएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्त रूपमा सेवा प्रतीक्षालयको उद्घाटन गर्दै ई-पालिका सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। अध्यक्ष शाहीका अनुसार बैजनाथ जिल्ला स्तरमै पहिलो ई-पालिका भएको हो।
ई-पालिका सेवा सञ्चालनका लागि करिब ३७ लाख रुपैयाँ लगानी गरिएको छ। जसमध्ये करिब २० लाख रुपैयाँ प्रतीक्षालय भवन र शौचालय निर्माणमा, र १७ लाख रुपैयाँ आधुनिक उपकरण तथा मेसिन जडानमा खर्च गरिएको गाउँपालिका स्रोतले जानकारी दिएको छ।
नयाँ प्रविधियुक्त व्यवस्थाअनुसार अब सेवाग्राहीले लामो लाइन बस्नुपर्ने छैन। टोकन प्रणालीमार्फत सेवा प्रदान गरिने छ। वातानुकूलित (एसी) प्रतीक्षालयमा दुई जना कर्मचारी स्थायी रूपमा सेवा व्यवस्थापनमा खटाइएका छन्।
साथै, वडाबाट प्राप्त हुने सबै प्रकारका सिफारिस सेवाहरू अब अनलाइनमै उपलब्ध हुनेछन्। यसले सेवा छरितो, पारदर्शी र जनमैत्री हुने विश्वास गरिएको छ।
ई-पालिकासँगै पालिकाले ‘हेलो अध्यक्ष’ नामक टोल फ्री गुनासो सेवा पनि सुरु गरेको छ। नागरिकले आफ्नो गुनासो निशुल्क रूपमा फोनमार्फत उजुरी गर्न सक्ने र सो गुनासो समयमै व्यवस्थापन गरिने पालिका अध्यक्ष शाहीले बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, कार्यपालिका सदस्यहरू कमान सिंह सुनार, रुपा थापा, फरुदिन हलवाई, वडा अध्यक्ष देब बहादुर रावत, भूपाल पुन मगरलगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैजनाथ गाउँपालिकाले सुरु गरेको ई-पालिका सेवा जिल्लाकै मात्र नभई प्रदेश तथा राष्ट्रिय तहका अन्य पालिकाहरूका लागि पनि नमुना बन्ने विश्वास गरिएको छ। अध्यक्ष शाहीका अनुसार आगामी दिनमा थप प्रविधिमैत्री र नागरिकमुखी सेवा थप गर्दै जाने योजना रहेको छ।