News Portal

असार १५ : दही चिउरामा स्वाद, हिलोमा खेतीको उमङ्ग

प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने परम्परा २०६२ सालदेखि सुरु भएको हो। कृषिप्रधान देश नेपालमा यो दिन किसानहरूका लागि मात्र होइन, सबै नेपालीका लागि सांस्कृतिक रूपमा महत्वपूर्ण बनिसकेको छ।

जनगर्जन संवाददाता२०८२ आषाढ १५
३४ पटक

काठमाडौं, असार १५ । “मानो रोपेर मुरी उब्जाउने” दिनका रूपमा चिनिने असार १५ आज देशभर उल्लासपूर्वक मनाइँदैछ। नेपाली कृषकहरू खेतमा धान रोप्दै, लोक भाका गुनगुनाउँदै, हिलोमा रमाउँदै, अनि दही चिउरा खाँदै आफ्नै मौलिक शैलीमा पर्व मनाइरहेका छन्।

प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने परम्परा २०६२ सालदेखि सुरु भएको हो। कृषिप्रधान देश नेपालमा यो दिन किसानहरूका लागि मात्र होइन, सबै नेपालीका लागि सांस्कृतिक रूपमा महत्वपूर्ण बनिसकेको छ।

आज खेतमा काम गर्नेहरू दही चिउरा खाएर शरीरमा ऊर्जा सञ्चय गर्छन्। यो चलन केवल स्वाद र परम्परामा सीमित छैन; दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ। पाचन प्रणाली सुधार गर्नुका साथै गर्मीको मौसममा शरीरलाई चिसो बनाइ राख्ने गुणका कारण दहीको महत्व अझ बढ्छ।

दही नेपाली संस्कृतिमा शुभ संकेतको रूपमा पनि प्रयोग हुन्छ। नयाँ काम सुरु गर्नुअघि दही–अक्षता टीका लगाउने र सगुनस्वरूप दही खुवाएर बिदाइ गर्ने परम्परा छ। आयुर्वेदमा पनि दही (मथिएको तक्र) लाई औषधिजन्य मानिन्छ।

धान दिवसका अवसरमा विभिन्न स्थानमा कृषि मेला, धान रोपाइँ प्रतियोगिता, लोकगीत कार्यक्रम र परम्परागत भेषभूषामा हिलो खेल्दै रमाउने गतिविधि आयोजना गरिन्छ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकभाका आज खेतहरूमा गुञ्जिरहेका छन्।

यद्यपि, यो वर्ष असार मध्यसम्म पर्याप्त वर्षा नपरेकाले धेरै ठाउँमा रोपाइँमा ढिलाइ भएको छ। साथै, कतिपय ठाउँमा रासायनिक मलको अभाव भएको किसानहरूको गुनासो पनि सुनिएको छ। तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने मलको पर्याप्त मौज्दात रहेको जनाएको छ।

असार १५ अब केवल कृषि कर्म मात्र नभई नेपाली संस्कृतिको रंगीन चित्र बनेको छ—जहाँ हिलोमा पस्ने उमङ्ग, गीतमा बग्ने भावना, र दही चिउरामा मिठास मिसिएको छ।

प्रतिकृया दिनुहोस्