
काठमाडौं । काठमाडौंको टोखामा विष्णुमति खोलामा आएको आकस्मिक बाढीले बगाएको कारभित्र रहेकी एक महिलाको प्रहरीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको छ ।
बुधबार राति करिब १० बजे ग्राण्डी अस्पताल नजिकबाट बग्दै आएको बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको ईभी कार बानियाटार पुल नजिक अड्किएको थियो । गाडीभित्र फसेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीय भावना ओलीलाई नेपाल प्रहरीका तीन जना प्रहरी र दुई जना स्थानीयले मिलेर उद्धार गरेका हुन् ।
सो कार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौं धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । सिंह भने तत्काल गाडीबाट खोला किनारामा हाम फालेर ज्यान बचाउन सफल भए ।
गाडीभित्रै ओलीलाई बगाएको देखेपछि प्रहरीले घटनास्थलमै उद्दार कार्य थालेको थियो । उद्धारमा प्रहरी हवल्दार उमेश कुमार लोहनी, प्रहरी सहायक हवल्दार समिर विक, प्रहरी जवान सुमन थापा, लम्जुङ घर भई टोखा बस्ने १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङ सहभागी थिए । उद्धारका क्रममा अर्जुनको खुट्टामा र राजुको हातमा सामान्य चोट लागेको छ ।
नेपाल प्रहरी प्रवक्ता अपिलराज बोहराका अनुसार उद्धारपछि घाइतेहरुलाई बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचारका लागि लगिएको र हाल सबैको अवस्था सामान्य छ । उद्धार कार्यलाई प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा २० जना र विपद व्यवस्थापन प्रहरी कार्यालयबाट २५ जनाको टोलीले सघाएको थियो ।
खोलामा बगेको कारलाई राति पौने १२ बजे क्रेनको सहायताले बाहिर निकालिएको र हाल सो कार प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ ।