
काठमाडौ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्प कमल दाहाल’प्रचण्ड ‘ले अहिलेको सरकारले लोकतन्त्रलाई गंगा नदी ठानेर नक्कली भुटानी शरणार्थी, गिरीबन्धु, बालमन्दिरजस्ता काण्डहरु बगाएको टिप्पणी गरेका छन् ।
आज संसदमा प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सरकारको यस्ता हर्कतका कारण जनताको नजरमा लोकतन्त्र धमिलिएर गएको बताएका छन ।
उनले भने ‘तपाईँहरुले जनचाहनालाई बारम्बार उपेक्षा गरिरहनु भएको छ । पछिल्लो आठ महिनामा तपाईँहरुले लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिनु भएको छ । एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो, तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, तर फोहोर थुप्रियो लोकतन्त्रमा, गिरीबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयको जमिनका काण्डहरु धुनुभयो । जनताको नजरमा सार्है धमिलिएको लोकतन्त्र देखियो,’।
सरकारप्रतिको आक्रोश अहिले व्यवस्थामाथि पोखिन खोजेको र यस कुरालाई सरकारले आत्मसमीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले देखेको बताए । दुई तिहाइको घोडा विचौलियाहरुले चलाइरहेको उनको आरोप छ । विचौलियाहरुको दबावमा निर्णय र नियुक्ति भइरहेको प्रचण्डको दाबी छ । सत्ताको ड्राइभिङ सिटमै आज विचौलिया रहेको प्रचण्डको आरोप छ ।