काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते खबरदारी सभा गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले जानकारी दिएका छन ।
पार्टी प्रवक्ता प्रकाण्ड सीले सहिद दिवसको अवसर पारेर यहि माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट खबरदारी सभा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन । उनले बिगतमा समाजवादी मोर्चाको गति मन्द भएको समिक्षा गर्दै आगामी दिनमा त्यस्तो कार्य नदोहोरिने बताएका छन ।
यसैगरी , प्रवक्ता प्रकाण्ड सीले यसअघि समाजवादी मोर्चाले कार्यदललाई दिएको जिम्मेवारी छिट्टै टुंग्याउने बताउदै पछिल्लो राजनीतिक घटनाक्रमलाई समेत समेटेर छिट्टै प्रतिबेदन बुझाउने समेत जानकारी दिएका छन ।
२०८० असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने गत फागुन ६ गते आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।
उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका थिए।