News Portal

  • टिकापुरका सुकुम्वासीहरु लालपूर्जा पाउनुपर्ने माग गर्दै काठमाडौंमा

    वसन्त वि. क.२०८१ जेठ २६
    ८० पटक

    काठमाडौं । कैलालीको टिकापुरका सुकुम्वासीहरु लालपूर्जा पाउनु पर्ने माग गर्दै सरकारलाई झक्झकाउन काठमाडौ पुगेको १ हप्ता भयो । उनीहरुलाई प्रधानमन्त्री देखि मन्त्रीहरुलाई भेटन निकै सकस भयो । सुकुम्वासीहरुले जेनतेन जेठ २१ गते उर्जा,खानेपानी र भूमि सुधार मन्त्रीलाई भेट्न सफल भएपनि प्रधानमन्त्रीलाई भेट्न निकै गाह्रो भयो ।
    मन्त्रीहरुसंग आफ्ना माग राखेका पीडितहरुले प्रधानमन्त्रीसंग पनि आफ्नो ज्ञापनपत्र सहित माग राख्न चाहेका थिए । तर पीडितहरुका लागि समय मिलाई दिने कोही पनि भएन ।

    हैरान भएका पीडितहरु जेठ २५ गते नेकपाका प्रवक्ता प्रकाण्डसंग भेट गर्न पुगे । पीडितहरुले नेकपाले पनि समस्या समाधानमा पहल गर्न र प्रधानमन्त्रीसंग भेटगर्ने बातावरण मिलाईदिन आग्रह गरे ।
    नेकपाका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी सरकारमा नभएपनि समस्या समाधानमा पहल गर्ने विश्वास दिलाउदै ठाउँको ठाउँबाट फोन गरेर प्रधानमन्त्रीलाई भेट गर्ने समय मिलाई दिए । त्यसपछि पीडितहरुले जेठ २५ गते नै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना मागहरु राखेका छन ।

    सुकुम्वासीहरुले जेठ २६ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंंग भेटेर पनि समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका छन ।
    १ हप्ताको डेलिकेसन ल्याएर काठमाडौं आएका सुकुम्वासीसंगै वाढी पीडित, पूर्व कर्मचारी, मुक्तकमैया, लगायतका विभिन्न क्षेत्रका पीडितहरुको सहभागिता छ ।

    तर उनीहरु सबैको एउटै स्वर छ ‘३० औं बर्षदेखि भोगचलन गरेको जमिन आफ्नो नाममा पास गरी लालपूर्जा दिईहोस् र जमिन नहुनेहरुलाई जमिन दिएर पूर्नस्थापना गरिहोस् ।’
    टिकापुरको एकतानगर, विशालनगर, एकतापुर, पूर्वकमैया, शिवनगर, चमेलीपुर, शक्तिनगर र पूर्वकर्मचारी टोलगरी ९ बटा बस्तीहरुमा वसोबास गर्ने पीडितहरु सरकारलाई दवाव दिन डेलिकेसन ल्याएर काठमाडौ आएका हुन ।

    उनीहरुले प्रधानमन्त्री,मन्त्री र नेताहरुले समस्या समाधान गर्ने आश्वास दिएपनि कार्यान्वयन नहुदा सम्म विश्वस्त हुने आधार नभएको बताएका छन । शनिवार पीडितहरुले रिपोर्ट क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो लालपूर्जा पाउने माग राज्यले पुरा नगरे र मुक्त कमैयाको पूर्नस्थापना नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।

    सुकुम्वासी आन्दोलनका अगुवा चन्द्र भण्डारीले ३० औं बर्ष जमिनमा कुर्दा पनि लालपूर्जा नपाउनु अभागी भएको दुखेसो पोखे । उनले भने ‘भारतमा छोरा छोरी मजदुरी गर्न पठाएर त्यहाँबाट आएको पैसा खर्च गर्न काठमाडौ आएका छौ, ऋणको डोको बोकेर आएका हौं,यो रहर होइन,हाम्रो लागि बाध्यता भयो, सरकार ३० बर्ष सम्म कानमा तेलहालेर सुत्यो, झक्झकाउन काठमाडौ पुगेका छौ, हामीलाई लालपूर्जा चाहियो ।’
    उनले गणतन्त्र स्थापना पछि विभिन्न सरकार आएको भएपनि आफ्नो समस्या कसैले सुनुवाई नगरेको गुनाासो पोखे । पत्रकार सम्मेलनमा आन्दोलनमा सहभागी सितादेवी चौधरीले सरकारले टिकापुरवासीको माग सुनुवाई नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिईन ।

    टिकापुरको ९ वटा बस्तीमा ४ हजार ७ सय २१ वटा घरधुरी छन । त्यसमा झण्डै १५ हजार सुकुम्वासी,मुक्तकमैया,पूर्व कर्मचारी र वाढी पीडितहरुको वसोबास छ । स्थानीय सरकारले उनीहरु बसेको स्थानलाई बनक्षेत्र भित्र परेको,विद्यालयको लागि जग्गा चाहिने आदि वाहना बनाएर उठाउन खोजेको छ ।

    अहिले काठमाडौमा ९ वटै वस्तीको प्रतिनिधित्व गरेर २९ जना पीडितहरु आन्दोलनमा आएका छन । पीडित आन्दोलनकर्मीले आफूहरु लालपूर्जा पाउने ग्यारेण्टी नहुदा सम्म घर नर्फिने अडान दिएका छन ।

     

    प्रतिकृया दिनुहोस्