जनगर्जन संवाददाता२०८२ आषाढ ११

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीलाई लेबी र सदस्यता शुल्क हस्तान्तरण गरेका छन् ।
अध्यक्ष ओली आफैं एमाले केन्द्रीय कार्यालय च्यासलस्थित वित्त तथा कोष व्यवस्थापन विभाग पुगेर आफ्नो आर्थिक दायित्व पूरा गरेका हुन् । उनलाई केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद प्रदान गरेका थिए ।
एमालेका अनुसार ओलीले वार्षिक सदस्यता शुल्कबापत ३०० रुपैयाँ तथा लेबीबापत १२ महिनाको ३ लाख रुपैयाँ गरी कूल ३ लाख ३०० रुपैयाँ पार्टीलाई हस्तान्तरण गरे । एमालेले प्रत्येक वर्ष नेता–कार्यकर्ताबाट सदस्यता शुल्क तथा सार्वजनिक पदमा रहेका प्रतिनिधिबाट लेबी असुल्दै आएको छ ।
यस्ता रकम पार्टीको सञ्चालन, संगठन निर्माण तथा विविध कार्यक्रम सञ्चालनका लागि उपयोग हुने एमालेले जनाएको छ ।