
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको संवादमा यादवले प्रचण्डमाथि गम्भीर आरोप लगाउँदै भने, “उहाँसँग विश्वासको कुनै आधार छैन। छलकपट, जालझेल र विश्वासघात बाहेक उहाँसँग अरू केही छैन। उहाँ विश्वासयोग्य व्यक्ति रहनुभएको छैन।”
यादवले प्रचण्डसँग भविष्यमा कुनै किसिमको सहकार्य नहुने स्पष्ट पारे। सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपाले प्रमुख प्रतिपक्षी माओवादीसँग समेत सहकार्य नगर्ने बताए।
“हामी सरकार ढाल्ने खेलमा छैनौं। म्युजिकल चियरको शैलीमा चार जनालाई पालैपालो प्रधानमन्त्री बनाउने काम हामी गर्दैनौं,” उनले भने। यादवले समस्याको समाधान खोज्न नेतृत्व तहमा रहेका व्यक्तिहरूले राष्ट्रकाे हितमा त्याग गर्न सक्नुपर्ने बताए।
“माटोलाई निधारमा सिउरिएर, राष्ट्रकाे नाममा सुशासन दिन्छु, भ्रष्टाचार नियन्त्रण गर्छु, देश विकास गर्छु भनेर लाग्न सक्नुपर्छ,” उनले जोड दिए।