१६ पुस, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा दलाल पुँजीवाद र साम्राज्यवादले परनिर्भर बनाएको टिप्पणी गर्नु भएको छ । उहाँले नेपालको अर्थतन्त्र आकासवेली जस्तो भएको र जरा विनाको अर्थतन्त्र भएको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलवार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै पार्टी महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीले जरा विनाको अर्थतन्तको समाधान दिन नयाँ र्आिर्थक मार्ग ल्याएको बताउनु भएको हो ।
उहाँले नेपालमा नवउदारवादी तथा दलाल पुँजीवादी अर्थतन्त्रले समाधान नदिएको दाबी गर्नु भयो । उहाँले भन्नु भयो ‘जतावाट आउछ उतै फर्किने नेपालको अर्थतन्त्र भयो, यसको जरा छैन, यो आकासवेली जस्तो भयो, यसलाई नयाँ आर्थिक मार्गले समाधन दिनु पर्छ ।’
उहाँले नेपालकै माटो,साधन र श्रोत प्रयोग गरेर आत्मनिर्भर हुदै समृद्धितिर जाने अर्थतन्त्र नेपालमा चाहिएको बताउनु भयो । महासचिव विप्लवले त्यसका लागि नेपालमा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरी नेपाली विशेषताको समाजवाद अनिवार्य भएको ठाकुवा गर्नु भयो ।
उहाँले पार्टीको केन्द्रीय समितिको बैठकले विचार संश्लेषण गर्ने, राष्ट्रघात,भ्रष्टाचार कमिसन विकृति विरुद्ध संघर्ष गर्ने, पार्टी दर्ता गरी क्रान्तिको एउटा मोर्चाको रुपमा आगामी ०८४ को निर्वाचन प्रयोग गर्ने, माओवादी क्रान्तिकारी शक्तिहरुसंग मोर्चा,धुव्रीकरण र एकतामा जोड दिने, पूर्वपश्चिम जनमार्च अभियान संचालन गर्ने, सी संस्कृति सम्वन्धि सांस्कृतिक अभियान चलाउने, जनसाँस्कृतिक तथा प्रगतिशील मञ्च बनाउने लगायतका निर्णयहरु गरेको जानकारी दिनु भयो ।