२७ फागुन, काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको छ । आइतबार राप्रपाको कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष बिक्रम पाण्डेको समूहले कुटपिट गरेको नेताहरु बताउँछन् ।
राप्रपालले बाँके जिल्ला समिति र काठमाडौंको शंखरापुर नगर समितिमाथि अनुशासनको कारबाहीबारे छलफल गर्न पार्टी कार्यालय, धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।
एक नेताका अनुसार शंखरापुर नगरपालिकाको पार्टी समितिले मेयर रमेश नापितलाई असहयोग गरेको भन्दै स्थानीय नेताहरुविरुद्ध उजुरी गरेको छ ।
आइतबारको बैठकमा कार्यसम्पादन समिति सदस्य श्रेष्ठले उजुरीमाथि छानबिन गरेर मात्र कारबाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए । तर आफ्नो पालोमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले श्रेष्ठतर्फ इंगित गर्दै नयाँ आएकाहरुलाई प्रशिक्षण दिनुपर्ने बताए ।
श्रेष्ठले जवाफ फर्काइहाले, ‘तपाईं पनि भ्रष्टाचारी नै हो, किन ठूलो कुरा गर्नु हुन्छ ।’
त्यसपछि पाण्डेले अप्रमाणित र व्यक्तिगत लान्छना लगाएको भन्दै श्रेष्ठमाथि कारबाही गर्न अध्यक्ष राजेन्द्र लिङ्देनसँग माग गरे । नभए बैठक बहिस्कार गर्ने उनले बताए ।
लिङ्देनले समय लिएर बोलिरहेको बेला जवाफ नफर्काउन र व्यक्तिगत तहमा आरोप प्रत्यारोप नगर्न रुलिङ गरे । तर पाण्डेले तत्काल श्रेष्ठलाई कारबाही गर्नुपर्ने बताए ।
अरु पनि एजेण्डा रहेको र त्यसक्रममा छलफल गर्ने बताएपछि पाण्डे बैठक स्थलबाट निस्किए । एक सहभागीका अनुसार उनी १५/२० मिनेटपछि फर्किए । त्यसपछि करिव आधा घण्टा बैठक चल्यो र खानाका लागि ब्रेक भयो ।
कार्यसम्पादन समिति सदस्यहरुलाई कार्यालय अगाडि खानाको व्यवस्था गरिएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु निस्केपछि श्रेष्ठ पनि निस्किए । ढोकाबाट अगाडि बढ्नासाथ उनीमाथि आक्रमण भयो ।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएको दृश्यमा श्रेष्ठ अध्यक्ष लिङ्देनको कोठामा प्रवेश गर्न खोजेका थिए । तर ढोकामा पुग्दा नपुग्दै ४/५ जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले हाने ।
घटनापछि राप्रपा नेताहरुले पनि सीसीटीभी फुटेज हेरेका थिए, जसमा पाण्डेका पीए समेत रहेका सहमहामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का ऋद्धिप्रताप राणा, युवक संघका निराजन बम समेतले कुटपिट गरेको देखिएको छ ।
घटनापछि राप्रपा अध्यक्ष लिङ्देनले पार्टीका उपाध्यक्षहरुसँग छुट्टै छलफल गरेका थिए । त्यसक्रममा उनले यो आपराधिक घटना भएको र सीसीटीभी फटेज लगायतको अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने बताएका छन् ।
कार्यसम्पादन समितिको बैठकमा नेता ज्ञानेन्द्र शाहीले बैठक स्थगित गर्न माग गरेका थिए । बैठकमा बोल्यो कि बाहिर कुटाइ खाने अवस्था रहेको भन्दै उनले भनेका थिए, ‘अब को बोल्छ ? भित्र बोल्यो कि बाहिर कुटाइ खाइन्छ ।’
अध्यक्ष लिङ्देनले भने प्रहरीसँगै पार्टीले पनि अनुसन्धान गर्ने र दोषी देखिए कारबाही गर्ने बताएका छन् ।
पार्टी नेताहरुबाटै कुटिएका श्रेष्ठ भने हाल ग्रिनसिटी हस्पिटलमा उपचाररत छन् । फोनमा संक्षित कुराकानी गरेका उनले पार्टीमा कसैको मानमर्दन गर्नु हुन्न भनेर आफूले बोलेको बताए ।
पार्टी अध्यक्षले रुलिङ गरेपछि त्यो विषय त्यहीँ सकिएको भन्दै उनले भने, ‘बाहिर निस्किने बेलामा ‘बैठकमा के बोलेको भनेर घेरेर कुटपिट गरे । सहमहामन्त्री एवं उहाँ (पाण्डे)का पीए पनि थिए ।’