News Portal

रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कमा,

'गुल्मी किन गएको खुलाएनन्'

जनगर्जन संवाददाता२०८२ आषाढ २६
३० पटक

रोल्पा । तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित सात जना कर्मचारी बुधबार अपराह्न मात्रै पालिकासँग सम्पर्कमा आएका छन्। उनीहरू सम्पर्कविहीन अवस्थामा गुल्मी पुगेको पाइएको छ।

असार २३ गते (आइतबार) राति करिब ९ बजे कार्यालयबाट निस्किएका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर, सहायक प्रशासक हरिश माझी, सह-लेखापाल यज्ञप्रसाद कँडेल, सब-इन्जिनियर चन्द्रप्रकाश ओली, सब-इन्जिनियर निशा आचार्य, कार्यालय सहयोगी शिवकुमार वली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए।

गाउँपालिकाका अध्यक्ष ऋषिकेष बुढामगरका अनुसार बुधबार दिउँसो करिब २ बजेतिर ती कर्मचारीहरू बागलुङको बुर्तिबाङ बजारस्थित एक होटलमा रहेको सूचना प्राप्त भएको हो। “थप जानकारी लिँदै जाँदा उहाँहरू गुल्मी पुगेको खुलेको छ,” अध्यक्ष बुढामगरले जनागर्जन नेटवर्कसँग भने, “केही समयअघि मात्रै उहाँहरूसँग फोन सम्पर्क भएको छ। उहाँहरूले लिवाङ हुँदै फर्किन्छु भन्नुभएको छ।”

कर्मचारीहरू सम्पर्कविहीन भएको सूचना पाएपछि गाउँपालिकाले असार २४ गते सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको थियो। पालिकाको सूचना अनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले २३ गते राति ओटिपी (OTP) कोड आवश्यक पर्ने भुक्तानी प्रक्रिया सहज बनाउन भोलिपल्ट रुकुम पूर्व जाने बताएका थिए।

अध्यक्ष बुढामगरका अनुसार, “यहाँ नेटवर्कको समस्या हुँदा भुक्तानीमा अवरोध नहोस् भनेर उहाँले बाहिर गएर प्रक्रिया मिलाउने भनेका थिए। तर त्यसपछि सम्पर्क नै हुन सकेन। सबैको फोन अफ थियो, कसैले पनि अफिससँग सम्पर्क गरेन। कार्यालयको महत्वपूर्ण कामहरू रोकिए।”

ती सबै कर्मचारीहरू अफिसका प्रमुख प्राविधिक, प्रशासनिक तथा लेखा सम्बन्धी जिम्मेवारी सम्हाल्ने व्यक्तिहरू रहेकाले उनीहरूको अनुपस्थितिले गाउँपालिकाको सेवा प्रवाहमा गम्भीर असर परेको पालिकाले जनाएको छ।

यता, सम्पर्कमा आए पनि ती कर्मचारीहरू गुल्मी किन गएका थिए भन्नेबारे स्पष्ट जानकारी नआएको अध्यक्ष बुढामगरले बताए। “उहाँहरूले गुल्मी किन जानुभयो भन्ने स्पष्ट पार्नुभएको छैन। यो विषयमा कार्यालय फर्केपछि छलफल हुनेछ,” उनले भने।

गाउँपालिकाले कर्मचारीहरूसँग नियमित कार्यसम्पादनमा भएको व्यवधानबारे समेत छानबिन गर्ने तयारी गरेको छ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसँग सम्पर्क गर्न प्रयास गरिए पनि सम्भावित नम्बरमा फोन गर्दा उनले फोन नउठाएको पालिकाले जनाएको छ।

स्थानियवासीहरूले पनि पालिकाका सबै जिम्मेवार कर्मचारी एकैपटक हराएको विषयमा आशंका व्यक्त गरेका छन्। कतिपयले यो घटनालाई नियोजित अनुपस्थिति हो कि भन्ने प्रश्न उठाएका छन्। गाउँपालिकाले यसबारे औपचारिक रूपमा केही नबोले पनि कर्मचारीहरू कार्यालय फर्केपछि स्पष्टिकरण माग्ने तयारी भइरहेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्