
बैजनाथ (बाँके), असार १६ । नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि पुनः आफ्नो खेतबारी फर्किएका बैजनाथ गाउँपालिका–८ का कृष्णमोहन थारुको जीवनमा फेरि नयाँ ऊर्जा थपिएको छ। सात वर्षदेखि व्यावसायिक खेतीमा लागेका उनले आफ्नै ‘के.एम. कृषि फर्म’मार्फत चार कठ्ठा तरकारी र पाँच बिघा धान–गहुँ खेती गर्दै आएका छन्। निजी लगानीमा मिनी टिलर किनेका थारुले हालै पालिकाबाट प्राप्त पावर टिलरलाई “खेतीको रफ्तार लिने नयाँ साधन” भनेर चिनाएका छन्।
बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्षको ‘पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषकलाई पावर टिलर, मिनी टिलर, च्याप कटर, ई–लोडर अटोजस्ता यान्त्रिक उपकरण ७० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ। हालसम्म पालिकाले १०२ वटा मिनी टिलर र २१ वटा पावर टिलर वितरण गरिसकेको छ।
वडा नम्बर २ का भरत न्यौपाने र वडा नम्बर ७ का गणेश थारु जस्ता कृषकहरूले पनि यान्त्रिक उपकरणको प्रयोगबाट खेतमा परिश्रम घट्दै उत्पादन बढेको अनुभव गरिरहेका छन्। “पहिले हलो जोतेर एक दिनमा एक बिघा जोत्न मुस्किल थियो, अब आधा समयमा दुई बिघा जोत्न सक्छु,” गणेश थारु भन्छन्।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार, चुनावी प्रतिबद्धताको कार्यान्वयन स्वरूप कृषकको माग, अनुभव र संवादका आधारमा योजनाहरू निर्माण र कार्यान्वयन भइरहेका छन्। “गाउँमै प्रविधि पु¥याउने हाम्रो अभियानले किसानको सोच र सम्भावनासमेत जोत्न थालेको छ,” अध्यक्ष शाहीले बताए।
कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार पालिकाले केवल यान्त्रिकीकरणमा मात्र होइन, सिँचाइ, ढुवानी र भण्डारणसम्मका पक्ष समेट्दै उपकरण तथा बीउ उपलब्ध गराउँदै आएको छ। हालसम्म ११ जना कृषकलाई ई–लोडर, बीउ तथा खाद्य भण्डारणका लागि ५० प्रतिशत अनुदानमा गोदाम निर्माण सहायता र आकस्मिक अवस्थाका लागि ‘कृषि एम्बुलेन्स’ सेवा पनि सञ्चालनमा ल्याइएको छ।
यसरी सहरमा सामान्य ठानिने प्रविधिहरू गाउँमा भित्रिएपछि कृषकहरूको जीवनशैली, सोच र उत्पादन पद्धतिमा परिवर्तन देखिन थालेको छ। समय, श्रम र लागतको बचतसँगै उत्पादनको सुनिश्चितता पनि बढेको अनुभव कृषकहरूले गर्न थालेका छन्। बैजनाथ गाउँपालिकाको कृषि यान्त्रिकीकरण अभियान अब खेतमा मात्रै होइन, सोचमा पनि गहिरो असर पार्न थालेको छ।