News Portal

“राजनीतिक प्रतिशोधको शिकार भएँ, न्यायमा विश्वास छ : रवि लामिछाने

जनगर्जन संवाददाता२०८१ चैत्र २५
२०६ पटक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले आफूलाई कारागार चलान गरिएको घटनापछि न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन्। उच्च अदालतको आदेशअनुसार कारागार चलान भएपछि लामिछानेले आफ्नो सचिवालयमार्फत एक सन्देश सार्वजनिक गर्दै न्यायिक प्रक्रियाबाट आफू अन्यायमा नपर्ने आशा व्यक्त गरेका हुन्।

लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै भनेका छन्, “अहिले ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, ठीकै छ, तर यस्तै परीक्षामा धेरैले परीक्षा दिनुपर्नेछ। धैर्य गरौं, पालो क्रमशः सबैको आउँछ। म डराएको छैन, आँत्तिएको छैन।”

उनले आफूले सर्वोच्च अदालत जाने कानूनी अधिकार प्रयोग गर्ने तयारी गरिरहेको पनि स्पष्ट पारेका छन्। “मेरा कानून व्यवसायीहरूले यसको तयारी गरिरहनुभएको छ। तल्लो तहको अदालतले दिएको आदेशविरुद्ध माथिल्लो तहको अदालतमा जान पाउने कानूनी अधिकारको सुदुपयोग गर्छु,” उनले बताएका छन्।

लामिछानेले न्यायालयबाट आफूले निष्पक्ष निर्णय पाउनेमा पूर्ण भरोसा रहेको बताएका छन्। “जतिसुकै ममाथि राजनीतिक प्रतिशोध साँधिए पनि न्यायको मन्दिरबाट मप्रति अन्याय हुने छैन भन्नेमा म विश्वस्त छु,” उनको भनाइ छ।

उनीमाथि अघि बढाइएको मुद्दा र अदालतको आदेशलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र र बाहिर पनि विभिन्न प्रतिक्रिया आएका छन्। लामिछानेले भने धैर्य र विधिको बाटो अपनाउँदै अघि बढ्ने संकेत दिएका छन्।

प्रतिकृया दिनुहोस्