१५ माघ, काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले नेपालको अग्रगामी शक्ति समाजवादी मोर्चा भएको बताएका छन ।
समाजवादी मोर्चा नेपालले मंगलवार काठमाडौमा आयोजना गरेको ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्वोधन गर्दै अध्यक्ष यादवले नेपालको अग्रगामी राजनीतिक शक्ति समाजवादी मोर्चा भएको बताएका हुन ।
उनले नेपालमा प्रतिगामी शक्ति, यथास्थितिवादी शक्ति र अग्रगामी शक्ति रहेको बताए । अध्यक्ष यादवले भने, ‘अग्रगामी सोच भएका नेताहरु समाजवादी मोर्चामा छन, मोर्चाका नेताहरुले एकपटक आँट गर्नै पर्छ । मोर्चालाई धुव्रीकरण र एकतामा लिएर देशलाई नयाँ निकास दिनु पर्छ ।’
उनले थप भने ‘समाजवादी अर्थव्यवस्था चाहिन्छ, उत्पादनसंग जोडिएको व्यवस्था चाहिन्छ, यो मोर्चाले त्यो काम गर्न सक्छ त्यसैले यसको आवश्यकता र औचित्य झन बढेको छ ।’
उनले प्रचण्ड नेतृत्वको सरकारले केही राम्रा काम गर्ने कोशिस गरिएको बेला भ्रष्टहरुलाई संरक्षण दिन र देशलाई प्रतिगमनतिर लिन चलखेल भएर ओली जीको नेतृत्वमा नयाँ सरकार बनेको आरोप लगाए ।
अध्यक्ष यादवले नेपालका कम्युनिष्टहरुको विभाजनले दुख पाईएको भन्दै कम्युनिष्टहरुको एकता पनि जरुरी भएकोमा जोड दिए ।