
बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित विद्यालय अनुगमन तथा समन्वय प्रक्रियालाई थप तीव्र बनाएको छ। गाउँपालिकाको शिक्षा शाखाले माध्यमिक विद्यालयहरूमा निरन्तर अनुगमन गर्दै शिक्षण–सिकाइ प्रक्रिया, भौतिक तथा शैक्षिक अवस्थाको मूल्याङ्कन, विद्यार्थी उपस्थिति, पाठ्यपुस्तक उपलब्धता र सिकाइ नतिजा जस्ता पक्षमा गहिरो अध्ययन सुरु गरेको हो।
शाखा प्रमुख विष्णु प्रसाद ढकालका अनुसार सबै सामुदायिक विद्यालयमा पुगेर प्रत्यक्ष संवादमार्फत आवश्यक सुझाव संकलन र शैक्षिक योजना निर्माणको कार्य अगाडि बढाइएको छ। “विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको समग्र मूल्याङ्कन भइरहेको छ,” उनले बताए।
हालै सार्वजनिक एसईई नतिजामा बैजनाथ गाउँपालिकाका सामुदायिक विद्यालयहरूको नतिजा अघिल्ला वर्षको तुलनामा सुधारोन्मुख देखिएको छ। यसले शिक्षक, विद्यार्थी तथा अभिभावकलाई थप प्रेरणा दिएको शिक्षा शाखाको ठम्याइ छ।
गाउँपालिकाले सार्वजनिक गरेको पाँचवर्षे शैक्षिक योजनामा विद्यालय मर्ज, शिक्षक मिलान, प्रविधिको प्रयोग, त्रिकोणीय समन्वय (अभिभावक–विद्यार्थी–शिक्षक), सीपमूलक तथा प्राविधिक शिक्षा जस्ता महत्वपूर्ण विषय समावेश छन्। यसले शिक्षालाई स्थानीय रोजगारीसँग जोड्ने उद्देश्य लिएको बताइएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीका अनुसार शिक्षा क्षेत्रलाई सर्वाेच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ। “गुणस्तरीय शिक्षा नै दिगो विकासको आधार हो भन्ने मान्यतासहित हामी अघि बढिरहेका छौं,” उनले स्पष्ट पारे।
शिक्षा शाखाले आगामी दिनमा शिक्षक अभिमुखीकरण, विद्यार्थी मनोपरामर्श सेवा, डिजिटल शिक्षण प्रविधिको प्रयोग लगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। साथै, विद्यालयप्रति अभिभावक र समुदायको जिम्मेवारीबोध अभिवृद्धि गर्न विद्यालयस्तरीय अभिभावक भेलासमेत सञ्चालन गरिने बताइएको छ।
प्रभात नमूना माध्यमिक विद्यालयका बि.ब्य.स. अध्यक्ष दल बहादुर सुनारका अनुसार यस्ता प्रयासहरूले बैजनाथलाई स्थानीय तहमै शैक्षिक क्षेत्रको नमूना बनाउन सक्ने सम्भावना देखिएको छ।
मंगलबार सरस्वती माध्यमिक विद्यालय बैरहवा, नेरामाबी नौवस्ता, जनता आदर्श माध्यमिक विद्यालय डिगिया, भगवान माध्यमिक विद्यालय हसनापुर, प्रभात नमूना माध्यमिक विद्यालय जिगाउँ र नेरामाबी पेडारीमा अनुगमन गरिएको थियो।