
काठमाडौं, असार १५ । राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता डा. बाबुराम भट्टराईले पूर्ण समर्थन जनाएका छन्। उनले अभियानमा हस्ताक्षर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले अन्यायपूर्ण व्यवहार गरेको स्पष्ट पारेका छन्।
भट्टराईले हस्ताक्षर गर्दै भने, “रवि लामिछानेमाथि देखिएको राज्यको व्यवहार राजनीतिक प्रतिशोधकै परिचायक हो। यस्तो अवस्थाले लोकतन्त्रको मुल्य र मान्यता नै संकटमा पर्न सक्छ। म यस अभियानमा पूर्ण एकता र समर्थन व्यक्त गर्दछु।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालन गरिएको यो हस्ताक्षर अभियान रवि लामिछानेविरुद्ध भइरहेको भनिएको राजनीतिक दमनको विरोधमा सञ्चालन भइरहेको हो। अभियानमा सर्वसाधारणदेखि विभिन्न राजनीतिक, सामाजिक, सांस्कृतिक व्यक्तित्वहरूले सहभागिता जनाएका छन्।
यसअघि राउटे समुदायका मुखियादेखि विभिन्न क्षेत्रका अगुवाहरूले पनि अभियानमा हस्ताक्षर गरी समर्थन जनाइसकेका छन्।
रास्वपाले यो हस्ताक्षर अभियानलाई ‘जनमतको दबाबमार्फत न्यायको सुनिश्चितता सुनिश्चित गर्ने’ रणनीतिक प्रयासको रूपमा अघि बढाएको जनाएको छ।