
‘
काठमाडौं, असार १४ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) ‘ध्वस्त’ हुने आशामा बसेका विरोधीहरुलाई कडा चेतावनी दिएका छन् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीमा ‘बम’, ‘बारुद’ पड्कने भन्ने सपना देख्न छाड्न आग्रह गरे ।
“विद्या भण्डारीले पार्टीमा बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर बसेका छन्,” अध्यक्ष ओलीले भने, “तर त्यो सपना कहिल्यै पुरा हुँदैन । कुनै बारुद, गोला यहाँ पड्किनेवाला छैन ।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा सक्रिय हुँदै गरेकी बेला आएको ओलीको यो टिप्पणीले व्यापक राजनीतिक सन्देश दिएको छ । कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी स्वयं पनि सहभागी थिइन् ।
ओलीले एमाले मदन भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद (जबज)’ केवल जपेर होइन, कार्यान्वयन गरेर अघि बढिरहेको दाबी गरे । उनले एमालेमा बाहिरबाट खलल पुर्याउने प्रयास विफल हुने स्पष्ट गरे ।
यसअघि चन्द्रगिरि नगरपालिका–१३ मा आयोजित वृक्षरोपण कार्यक्रममा पनि सहभागी भएका ओलीले उक्त कार्यक्रममा उपस्थित भएकोमा केहीले नकारात्मक टिप्पणी गरेको भन्दै आपत्ति जनाए । “वृक्षरोपणमा लागेको छु भनेर कार्यक्रम भाँड्न खोजेको भन्नु हास्यास्पद हो,” उनले भने, “म आउने कार्यक्रम, विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ ?”
कार्यक्रम मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको थियो । ओलीको सम्बोधनमा पार्टी एकता, विचारको निरन्तरता र अस्थिरता चाहनेहरूप्रति प्रहार स्पष्ट देखिन्थ्यो ।