
सुर्खेत । पहिला गर्मी र वर्षायाममा मात्र देखिने डेङ्गु रोग अब सुदूरपश्चिम प्रदेशमा बाह्रै महिना देखिन थालेको छ। वातावरणीय तापक्रममा असमान्य वृद्धि, वर्षा चक्रको अनियमिता र लामखुट्टेको प्रजननकाल लम्बिएसँगै डेङ्गु संक्रमण हरेक महिनामा फैलिन थालेको हो।
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार जलवायु परिवर्तनको असरले लामखुट्टेको रोग सार्ने क्षमता बढ्दै गएको छ। “अहिले चिसो महिनामा पनि डेङ्गु देखिन थालेको छ,” उनले भने, “वातावरणीय तापक्रमले लामखुट्टेलाई वर्षभरि बाँच्न सक्ने स्थिति बनाइदिएको छ।”
सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म सुदूरपश्चिमका १६७ जनामा डेङ्गु संक्रमण देखिएको छ। जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनमा हालसम्म २० जना संक्रमित भेटिएका छन्। जिल्ला अनुसार सबैभन्दा बढी डडेल्धुरामा ३४, कैलालीमा ३१, कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङ र बाजुरामा ११–११ जना र दार्चुलामा दुई जना संक्रमित छन्। बैतडीमा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन्।
डेङ्गु एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्छ। लामखुट्टे पानी जम्ने स्थान तथा प्लास्टिकजन्य फोहरमा बढी फस्टाउँछ। स्वास्थ्यकर्मीका अनुसार यो रोग अब मौसमी मात्र नभई वर्षभरको चुनौती बनेकाले नियमित सरसफाइ, लामो कपडाको प्रयोग, झुल लगाएर सुत्ने, हप्तामा एकपटक पानी जम्न नदिने अभियान, विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ।
शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्ट भन्छन्, “गर्मी र वर्षात्को समयमा डेङ्गु फैलिने जोखिम अत्यधिक हुन्छ, यसबेला सचेतना र सरसफाइ अभियानमा विशेष जोड दिनु आवश्यक छ।”
अब जलवायु अनुकूल सरसफाइ रणनीति बनाएर लामखुट्टेको लार्भा नष्ट गर्ने, फोहर व्यवस्थापन गर्ने र जनसहभागिता सुनिश्चित गर्दै डेङ्गुको रोकथाम गर्न सकिने सन्देश स्वास्थ्यकर्मीले दिएका छन्।