News Portal

मुग्लिन-नारायणगढ सडक पुनः सञ्चालन, दुईतर्फी सवारी आवागमन सुचारु

जनगर्जन संवाददाता२०८२ आषाढ १२
२४ पटक

चितवन,मुग्लिन । नारायणगढ-मुग्लिन सडकखण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरेपछि अहिले नियमित रूपमा दुईतर्फी सवारी साधन आवतजावत गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएको ठूलो ढुंगा हटाउन आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएको थियो । सो अवधिमा काम नसकिएपछि पुनः अपराह्न ३ बजेसम्म सडक बन्द गरी स्काभेटरको सहायताले ढुंगा झारिएको थियो ।

आचार्यले भने, “माथिबाट ढुंगा झर्ने जोखिम भएकाले दुर्घटना न्यूनीकरण गर्न र सवारीसाधनलाई सुरक्षित पार्न सडक बन्द गरिएको हो ।” ढुंगा हटाइएपछि दुईतर्फी सवारी साधन आवतजावत भइरहेको र बन्दाका क्रममा सवारी साधनलाई लेन अनुशासनमा राख्न चालकहरूलाई कार्यालयले अनुरोध गरेको पनि उनले जानकारी दिए ।

यस सडकखण्डमा यात्रा गर्दा चालक तथा यात्रुहरूलाई सचेत भएर यात्रा गर्नसमेत डिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्