
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणदेखि नक्कली भुटानी शरणार्थी काण्डसम्म ठूला नेताहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै कडा प्रश्न उठाएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै न्यौपानेले वर्तमान सरकारले अपराधलाई प्रश्रय दिइरहेको आरोप लगाए।
उनले भने, “भिजिट भिसा प्रकरण, गिरीबन्धु प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताको अनुसन्धान कहिले हुन्छ ? रवि लामिछाने गृहमन्त्री हुँदा रातारात सरकार फेरबदल किन भयो ?” उनले गम्भीर प्रश्न गर्दै सामाजिक सञ्जाल र मिडियामा आएको नेताहरूको नामबारे पनि अनुसन्धान नभएको गुनासो गरे।
अधिवक्ता न्यौपानेले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, “गिरीबन्धुको हदबन्दी छुट दिने ओली झण्डा हल्लाएर हिँड्ने, पतञ्जलीमा माधव नेपाल जेल जाने ? अवैधानिक काम गर्नेले पनि परिणाम भोग्नुपर्दैन ?” उनले सरकारलाई गम्भीर सचेतना दिँदै गिरीबन्धु टि स्टेटको अवैधानिक कामको पनि कारबाही हुनुपर्ने बताए।
रास्वपाका सभापति रवि लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णयप्रति बौद्धिक टिप्पणी गरेको उल्लेख गर्दै न्यौपानेले भने, “अदालतको निर्णयको विरोध होइन, रिजर्भेसन मात्र प्रकट गरिएको हो । अदालतका निर्णयहरूमाथि पनि बौद्धिक टिप्पणी गर्न सकिन्छ ।” उनले सरकारलाई अपराधलाई राजनीतिक संरक्षण नगर्न आग्रह गर्दै सबै प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए।