News Portal

१७ दिनपछि फाप्लु विमानस्थलमा हवाई सेवा पुनः सञ्चालन

जनगर्जन संवाददाता२०८२ आषाढ १२
१८ पटक

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण १७ दिनदेखि अवरुद्ध सोलुखुम्बुको फाप्लु विमानस्थल बुधबारबाट पुनः सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर विमानले काठमाडौं–फाप्लु–काठमाडौं रुटमा सफल उडान भरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार विमान १२ यात्रु लिएर फाप्लु अवतरण गरेको थियो भने १० यात्रु लिएर काठमाडौं फर्किएको छ । जेठ २६ गतेदेखि लगातार परेको वर्षा र बाक्लो कुहिरोका कारण उडान अवरुद्ध भएको थियो ।

उडान ठप्प हुँदा सोलुखुम्बुका बिरामी, सुत्केरी तथा अन्य सेवाग्राही मर्कामा परेका थिए । गम्भीर अवस्थाका बिरामीलाई काठमाडौं पठाउन नसकिँदा कतिपयलाई जोखिम मोलेर ओखलढुंगा वा विराटनगरसम्म गाडीमा लैजानुपरेको स्थानीय पदम श्रेष्ठले बताए । स्वास्थ्यकर्मीहरूका अनुसार बाटोको खराब अवस्था र लामो दूरीका कारण बिरामीलाई थप कष्ट हुने गरेको छ ।

नेपाल एयरलाइन्सले हप्ताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन फाप्लु–काठमाडौं उडान तालिका तय गरे पनि खराब मौसम र प्राविधिक समस्याका कारण नियमितता प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ । अन्य निजी एयरलाइन्सले भने मौसमको अनिश्चितता र यात्रुको कमीका कारण नियमित सेवा राखेका छैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार सीमित जहाज, पाइलट अभाव र मौसमका कारण औसत महिनामा जम्मा १०–१२ दिन मात्र उडान सम्भव हुने अवस्था ।

लगभग २७५ किलोमिटर लामो काठमाडौं–फाप्लु सडकमार्ग अझै जोखिमयुक्त रहेको बताइन्छ । सिन्धुली, खुर्कोट र काभ्रेका ठाउँहरूमा भइरहने पहिरोले यात्रा झनै कठिन भएको स्थानीय बिमला राई बताउँछिन्, “सडकमार्गबाट बिरामी ल्याउनु शरीरलाई झन् सास्ती दिने काम हो ।”

हवाई सेवा नियमित गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने माग स्थानीय जनप्रतिनिधिहरूको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्छन्, “मौसमका कारण नियमित उडान चुनौतीपूर्ण भए पनि बिरामी, सुत्केरी र अन्य सेवाग्राहीलाई राहत दिन सेना र अन्य निजी एयरलाइन्ससँग सहकार्य गरेर समाधानको प्रयास भइरहेको छ ।”

यात्रुहरू भने छिटो मौसम सुधारिएर फाप्लु विमानस्थलको हवाई सेवा नियमित हुने आशामा छन् ।

प्रतिकृया दिनुहोस्