News Portal

सरकार गफमा व्यस्त, जनता लुट र करको बोझमा : प्रभु साह

जनगर्जन संवाददाता२०८२ आषाढ ११
३२ पटक

काठमाडौं । आजपा (आम जनमत पार्टी) का अध्यक्ष प्रभु साहले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ‘गफ र प्रचारबाजी’ मा मात्र सीमित रहेको आरोप लगाएका छन्। उनले जनताले सुशासनको अपेक्षा गर्दा लुट–भ्रष्टाचारको शिकार हुनु परेको बताएका छन्।

एक कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, “सरकार जनतालाई भाषण र गफले भरिएका आश्वासन बाँड्न व्यस्त छ। तर वास्तविकतामा जनता करको बोझ, मूल्यवृद्धि र संस्थागत भ्रष्टाचारको मारमा परेका छन्।”

उनले प्रधानमन्त्री ओलीमाथि सिधा आरोप लगाउँदै भने, “ओलीको संरक्षणमा लुट र भ्रष्टाचार मौलाइरहेको छ। जुनसुकै क्षेत्रमा हेर्नुस्, सरकार जनताको हितभन्दा टाठाबाठालाई फाइदा दिने निर्णय गर्दैछ।”

प्रभु साहले आर्थिक अपारदर्शिता, कर प्रणालीको दुरुपयोग र सार्वजनिक सम्पत्तिको दुरुपयोग सरकारकै मिलीभगतमा भइरहेको आरोप पनि लगाए। उनले भ्रष्टाचारको विरुद्ध जनस्तरबाट आवाज उठाउन आह्वान गर्दै भने, “अब जनता चुप बस्ने समय सकियो। यस्ता गफाडी सरकारलाई सडकमै उत्रिएर जवाफ दिनु पर्ने बेला आएको छ।”

साहको भनाइले सरकारभित्रको कार्यशैलीमाथि पुनः प्रश्न उठाएको छ। सरकारका प्रवक्ताहरूले भने यी आरोपहरूलाई ‘राजनीतिक पूर्वाग्रह’ भन्दै खारेज गरेका छन्।

प्रतिकृया दिनुहोस्