News Portal

संसदीय जाम देखेर सरकारसँग लचिलो बन्नुपर्‍यो : प्रचण्ड

जनगर्जन संवाददाता२०८२ आषाढ ११
२९ पटक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महत्वपूर्ण विधेयकहरू संसदमा रोकिँदै गएपछि आफू सरकारसँग लचिलो बन्न बाध्य भएको बताएका छन्।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संघीय प्रहरीसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलका क्रममा यस्तो धारणा राखेका हुन्।

‘संसदीय समितिमा लामो छलफलपछि पनि विधेयकहरू कार्यसूचीमा चढेर फिर्ता हुने र वर्षौंदेखि अड्किने अवस्था देखिएको छ,’ प्रचण्डले भने, ‘त्यही भएर महत्वपूर्ण विधेयक पारित गराउन सरकारसँग केही लचिलो हुनुपर्‍यो।’

उनले संघीय निजामति, विद्यालय शिक्षा, नागरिकता संशोधन, संघीय प्रहरीजस्ता ऐनहरू अत्यावश्यक भइसकेको उल्लेख गर्दै ती अब टार्न नहुने बताए।

हालै भिजिट भिसा प्रकरणमा सदन अवरुद्ध हुँदा माओवादी केन्द्रले सरकारसँग दुई बुँदे सहमति गरेको थियो। उक्त सहमतिपछि प्रचण्डमाथि आएको आलोचनाबारे उनले विधेयक पारित गर्ने लक्ष्यले सहमति गरिएको स्पष्ट पारे।

‘त्यतिकै टारिने त होइन भन्ने लाग्ने गरेको छ, त्यसैले पनि लचिलो हुनुपर्‍यो,’ उनले भने।

प्रतिकृया दिनुहोस्