News Portal

समाजवादका लागि ‘सामना सांस्कृतिक अभियान’ भव्य रूपमा सम्पन्न

"जनवादी गीत र ओपेराले सजियो राष्ट्रिय नाचघर"

जनगर्जन संवाददाता२०८२ आषाढ ३
८८ पटक

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट सामना परिवारद्वारा आयोजित ‘समाजवादका लागि सामना सांस्कृतिक अभियान’ कार्यक्रम सोमबार राष्ट्रिय नाचघर, जमलमा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। ‘हामी गाइरहन्छौं क्रान्तिका गीत’ शीर्षकमा प्रस्तुत सांस्कृतिक कार्यक्रममा जनवादी गीत, ओपेरा र विविध साङ्गीतिक प्रस्तुतिहरू समावेश गरिएको थियो

सामाजिक रुपान्तरण र समाजवादी विचारको प्रचारप्रसारलाई सघाउने उद्देश्यसहित देशव्यापी रूपमा सञ्चालन हुँदै आएको यस सांस्कृतिक अभियानअन्तर्गत काठमाडौँमा आयोजित कार्यक्रमले सहभागीहरूको मन जितेको थियो। कलाकारहरूले प्रस्तुत गरेका जनवादी गीत, नृत्य र ओपेराले राजनीतिक चेतना, जनआन्दोलनको इतिहास तथा समाजवादप्रतिको प्रतिबद्धतालाई जीवन्त ढंगले प्रस्तुत गरेका थिए।

कार्यक्रममा समाजवादी मोर्चा नेपालका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, नेसपा नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी (सोनाम), नेसपाका महासचिव रमेश यादव, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का नेता भक्तबहादुर शाह, नेकपाका नेता कृष्णहरी भट्ट लगायतका शीर्ष नेताहरूको उपस्थितिले कार्यक्रममा थप महत्व र गम्भीरता प्रदान गरेको थियो।

सामना परिवारका अनुसार यो अभियान देशभरि क्रमशः विस्तार गर्दै जनताको सांस्कृतिक चेतना अभिवृद्धि गर्ने कार्यमा निरन्तर लागिरहने बताइएको छ। कार्यक्रममा सहभागी नेता तथा वक्ताहरूले सांस्कृतिक आन्दोलन समाजवादी परिवर्तनको अपरिहार्य हिस्सा भएको उल्लेख गर्दै यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा जनसमुदायको उल्लेखनीय उपस्थिति र उत्साही सहभागिताले समाजवादका पक्षमा सांस्कृतिक मोर्चामा समेत सशक्त आवाज उठिरहेको संकेत गरेको छ।

प्रतिकृया दिनुहोस्