
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य सन्तोष सी( बिषम)ले सी जातिको प्रस्ताव सांस्कृतिक रुपान्तरणको मियो भएको दाबी गरेका छन् ।शनिबार समाजवादी मगर मुक्ति मोर्चाले काठमाडौमा आयोजना गरेको `जातीय मुक्ति र सी जातिको प्रश्न बिषयक´ अन्तर्कृयालाई सम्बोधन गर्दै उनले सी जातिको प्रस्ताव आफूहरुले सांस्कृतिक रुपान्तरणको मियोको रूपमा अघि सारेको बताए ।
“बिगतमा समाजवादी आन्दोलनमा क्रान्ति पछि प्रतिक्रान्ति हुन पुगे, त्यसो हुनुका विभिन्न कारण छन् तर त्यस मध्ये राजनीति क्रान्ति सङ्गै सांस्कृतिक क्रान्ति हुन सकेन, आर्थिक क्रान्ति हुन सकेन, त्यसैले ती अनुभवलाई समेत बिचार गर्दै हामीले सी जातिको प्रस्ताव ल्याएका हौ”- नेता बिषमले भने।
मन्तव्यको क्रममा उनले जातीय बिभेद र उत्पीडनको अन्त्य गर्ने र समानतामा आधारित समाज निर्माणका लागि उक्त प्रस्ताव नेपाल कम्युनिस्ट पार्टीले अगाडि ल्याएको भएपनि यो भन्दा अझ उन्नत र राम्रो पदावलीद्वारा समस्यालाई समाधान गर्ने गरि कुनै प्रस्ताव आए आफूहरु खुला छलफल र सम्बाद गर्न तयार रहेको बताए ।
नेपालको कम्युनिस्ट आन्दोलनमा जात, जाति, बर्ग, राष्ट्र, राज्य जस्ता शब्द र तिनको ब्याख्यामा अस्पष्टता रहेको उल्लेख गर्दै नेता संतोषले अब समाजवादलाई मियो बनाएर जातीय समस्या समाधान गरिनुपर्ने बताए।उनले जनजाति र आदिवासी दुई छुट्टाछुट्टै पदावलीको छुट्टाछुट्टै अर्थ हुने भए पनि नेपालको सन्दर्भमा जनजाति र आदिवासी एउटै रहेको बताए ।
सी जातिको प्रस्ताव अहिले पार्टीभित्र निर्णय गरेको तर आम जनता र समाजका लागि प्रस्तावको रूपमा अगि सारेको उल्लेख गर्दै उनले सी जातिको जन्म, मृत्यु र विवाह जस्ता संस्कार कस्तो हुने भन्नेबारे नीति बनाएर कार्यान्वयन भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी, अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सी,नेपाल मगर संघका सहअध्यक्ष गङ्गा बहादुर थापा, पत्रकार भवानी बराल, प्राडा चित्र बुढाथोकी, अध्यता रमेश सुनुवार, नेकपा माओवादी केन्द्रका नेता सुरेश आले मगरले नेपालको जनजाति समस्या र सी जाति सम्बन्धि अवधारणापत्रमाथि टिप्पणी गरेका थिए।
समाजवादी मगर मुक्ति मोर्चा नेपाल अध्यक्ष सुदर्शन मङ्गोलको अध्यक्षतामा भएको कार्यक्रम इन्द्र सीले सञ्चालन गरेका थिए।