News Portal

कुलमानलाई हटाउन सरकारले दिएको तर्क वाइयात छः जनार्दन शर्मा

जनगर्जन संवाददाता२०८१ चैत्र १२
९७ पटक

१२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कडा असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको बैठकमा बोल्दै शर्माले घिसिङलाई हटाउनुको कारणबारे खोजी गर्दा कुनै गम्भीर विषय फेला नपरेको दाबी गरे। “नेपाल विद्युत् प्राधिकरणको एमडीलाई सरकारले हिजो हटाएछ। मैले सोचेँ, के-के आरोप होला भनेर हेरेको, तर मुख्य आरोप काम गर्न नसकेको भन्ने रहेछ,” शर्माले भने, “अरु केही गम्भीर कारण होला भन्ने लागेको थियो, तर त्यस्तो केही पनि होइन रहेछ। यो तर्क कसैले पत्याउँदैन, मन्त्रीज्यू।”

उनले योग्य र सक्षम व्यक्तिलाई हटाउनु देशको दुर्भाग्य भएको टिप्पणी गरे। “यस्तो वाइयात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु हाम्रो देशको दुर्भाग्य हो। यो दुःखद कुरा हो, यसको म विरोध गर्न चाहन्छु,” शर्माले भने। उनले सरकारलाई यो निर्णय सच्याउन आग्रह गर्दै भविष्यमा पश्चाताप हुने चेतावनी पनि दिए।

आफू ऊर्जामन्त्री हुँदा बजारका सबैभन्दा योग्य व्यक्ति खोजेर घिसिङलाई नियुक्त गरेको उल्लेख गर्दै शर्माले भने, “मैले योग्यतम मान्छे खोजेर उहाँलाई नियुक्त गरेको थिएँ। काम गर्न सक्ने र योग्य व्यक्ति भनेर पुष्टि भइसकेको अवस्थामा सरकारको यो निर्णय ठूलो गल्ती हो।”

कुलमान घिसिङको कार्यकालमा विद्युत् व्यवस्थापनमा देखिएको सुधार र लोडसेडिङ अन्त्यमा उनको महत्वपूर्ण भूमिका रहेको भन्दै सर्वसाधारणले समेत उनको प्रशंसा गर्दै आएका थिए। सरकारको पछिल्लो निर्णयपछि घिसिङको पुनर्बहालीको मागसमेत सामाजिक सञ्जालमा व्यापक रूपमा उठेको छ।

प्रतिकृया दिनुहोस्